निषेधाज्ञाको पालना नहुँदा सङ्क्रमण र मृत्युदर घटाउन सकिएन् : स्वास्थ्य मन्त्रालय
काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना नभएको र निषेधाज्ञाको समयमा समेत आवतजावत नरोकिएको जनाएको छ ।सोमवार मन्त्रालयले...
काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना नभएको र निषेधाज्ञाको समयमा समेत आवतजावत नरोकिएको जनाएको छ ।
सोमवार मन्त्रालयले एक सूचना निकालेर महामारीको रोकथामका लागि जनस्वास्थ्यका मापदण्डहरुको पालना नहुँदा र निषेधाज्ञाको समयमा पनि मानिसहरुको अवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको भन्दै मन्त्रालयले सबैले जिम्मेवार भएर निषेधाज्ञाको पालना गर्नुपर्ने बताएको हो ।
यस्तै मन्त्रालयले विवाह, व्रतबन्ध जस्ता सामाजिक र भेला उद्घाटन जस्ता राजनीतिक गतिविधिमा हुने भिडभाडका कारण कोरोना सङ्क्रमण फैलिएको कुरामा हामी भुक्तभोगी भएको भन्दै अब यस्तो गल्ती नदोहोर्याउन आग्रह पनि गरेको छ । निषेधाज्ञा तथा स्वास्थ्यका मापदण्डको पालना कम भएकै कारण सङ्क्रमण र मृत्युदर घटाउन नसकेको भन्दै मन्त्रालयले सङ्क्रमण रोक्न सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।
‘जनजीवनमा कठिनाइ पर्न गए पनि हामीसँग सङ्क्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य, समन्वय आदिका लागि गरिएको निषेधाज्ञामा अझै पनि बुझी नबुझी, लुकीछिपी वा खुला रुपमा उल्लङ्घन भइरहेको देख्न सकिन्छ ।
त्यसैले सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन सम्बन्धित सबैमा मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ’, मन्त्रालयले भनेको छ ।











