Kathmandu Press

१८ हजार सिलिन्डर तातोपानी नाका आइपुगे

१८ हजार सिलिन्डर तातोपानी नाका आइपुगे

काठमाडौं, जेठ २ ः सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्‍याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन्। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए। उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइनेछ।
    
सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो। यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो। अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ। 

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ। शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो। कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो।
 

प्रकाशित मिति: ११:१७ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्