आजबाट काठमाडौंमा चिनियाँ खोपको दोस्रो डोज लगाइँदै
काठमाडौं, जेठ २ : कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आजबाट काठमाडौंमा दोस्रो डोज खोप लगाइँदै छ। आज बिहान १० बजेदेखि काठमाडौं...
काठमाडौं, जेठ २ : कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आजबाट काठमाडौंमा दोस्रो डोज खोप लगाइँदै छ।
आज बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप कार्यक्रम शुरु हुने भएको छ। भेरोसेलको पहिलो डोज लगाउँदा केही निश्चित अस्पताल तोकिएको भए पनि दोस्रो डोजका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गरेको छ। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्षसम्मका नागरिकलाई दोस्रो डोज लगाइनेछ।
खोपको दोस्रो डोज लगाउनका लािग यसअघि दिएको कार्ड ल्याउन आग्रह गरिएको छ। त्यससँगै आफ्नो परिचय खुल्ने कागजात ल्याउन पनि महानगरले आग्रह गरेको छ।
आज पहिलो दिन गत चैत २५ देखि २८ गतेसम्म पहिलो डोज लगाएकाले दोस्रो डोज पाउनेछन्। त्यस्तै, चैत २९ र ३० गते पहिलो डोज लगाएकाले जेठ ३ गते दोस्रो डोज पाउने छन्।
यसैगरी गत चैत ३१ गते र वैशाख २ गते पहिलो डोज लगाएकाहरूलाई जेठ ४ गते दोस्रो लगाइने महानगरले जनाएको छ। वैशाख ३ र ४ गते पहिलो लगाएकाले जेठ ५ गते दोस्रो डोज पाउनेछन्।
महानगरका अनुसार वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ६ गते दोस्रो डोज दिइनेछ भने वैशाख ७ देखि १० गते पहिलो खोप लगाएकाहरूले जेठ ७ गते दोस्रो डोज लगाउन पाउनेछन्। यस्तै, वैशाख ११ र १२ गते पहिलो डोज लिएकालाई जेठ ८ गते दोस्रो डोज तोकिएको छ।
महानगरले जारी गरेको सूचनामा वैशाख १३ गते पहिलो डोज लगाउनेले जेठ ९ गते, वैशाख १४ गते पहिलो डोज लगाउनेले जेठ १० गते तथा वैशाख १५ गते पहिलो डोज लगाउनेले जेठ ११ गते दोस्रो डोज लगाउन पाउने व्यवस्था गरिएको छ।



-1790332718.jpg)




-1790332718.jpg)


