कामदारद्वारा निर्माण व्यवसायीको हत्या
मोरङ, जेठ १ : मोरङको लेटाङमा काम गरेको पैसा माग्दा विवाद हुँदा मजदुरले छुरा प्रहार गरी निर्माण व्यवसायीको हत्या गरेका छन् । शुक्रबार राति लेटाङ–३...
मोरङ, जेठ १ : मोरङको लेटाङमा काम गरेको पैसा माग्दा विवाद हुँदा मजदुरले छुरा प्रहार गरी निर्माण व्यवसायीको हत्या गरेका छन् ।
शुक्रबार राति लेटाङ–३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर र रोमन निर्माण व्यवसायी हुन् । काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार हत्या गरिएका युवाले ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे।
पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लेटाङका अनुसार घटनापछि फरार रहेका दर्जी र लिम्बू लेटाङबाट शनिबार बिहान पक्राउ परेका छन् ।




-1790332718.jpg)




-1790332718.jpg)

