लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग
काठमाडौं, असार २ : संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरू....

काठमाडौं, असार २ : संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरूले माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए।
सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गरेका हुन्।
सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरे। केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियो।
उनले गुठी विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको जिकिर गरे।
सांसद जुलीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताए। जनकपुरको गुठीमा धेरै अव्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न यो विधेयक ल्याइएको उनको भनाइ थियो।











