Kathmandu Press

डा.केसीको स्वास्थ्य अवस्था जटिल, आइसीयूमा सारियो

शुक्रबार साँझ शिक्षा तथा खेलकुदमन्त्री अस्मित पोखरेलले डा.केसीका सहयोगी जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा.केसीसँग पनि टेलिफोन संवाद गरेका थिए । संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । 
डा.केसीको स्वास्थ्य अवस्था जटिल, आइसीयूमा सारियो

धनगढी, साउन ९ : बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ ।

उनका स्वास्थ्य सहयोगी डा.अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको छ । ‘रगतमा सुगर लेवल ४९ मा झरेको छ,’ जैसीले भने, ‘प्रेसर पनि एकसयमा झरेको छ । पोटासियम पनि कम भएको छ ।’ 

डा.केसीले भने सुगरको औषधि लान नमानेको जैसीले बताए । आफू अहिले अनसनमा रहेकाले अनसन अनुसारकै औषधि प्रयोग गर्न केसीले आग्रह गरेको जैसीको भनाई छ । सेती अस्पतालका डा.गजेन्द्र दुवालको टीमले केसीको स्वास्थ्य अवस्थाको निरीक्षण गरिरहेका छन् ।

शुक्रबार साँझ शिक्षा तथा खेलकुदमन्त्री अस्मित पोखरेलले डा.केसीका सहयोगी जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा.केसीसँग पनि टेलिफोन संवाद गरेका थिए । संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

त्यसक्रममा डा.केसीले आफ्नो पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने आफ्नो मुख्य अडान रहेको बताएका थिए ।

मन्त्री पोखरेलले ती विषयमा वार्ता टोली गठन गर्ने र आवश्यक परे आफू नै धनगढी आउने प्रतिबद्धता जनाएको सहयोगी डा.जैशीले बताए ।

यता, केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर स्थानीयबासीले प्रदर्शन गरेका थिए । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिने षडयन्त्र भएको भन्दै स्थानीयले केसीबिरुद्ध शनिबार विहान प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: १४:५१ बजे, शनिबार, साउन ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्