Kathmandu Press

माथिल्लो तामाकोशीबाट पुसदेखि विद्युत उत्पादन सुरू हुन्छ : कुलमान घिसिङ

काठमाडौं, असार २ : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एउटा युनिटबाट पुसदेखि विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान....

माथिल्लो तामाकोशीबाट पुसदेखि विद्युत उत्पादन सुरू हुन्छ : कुलमान घिसिङ

काठमाडौं, असार २ : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एउटा युनिटबाट पुसदेखि विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएपछि घिसिङले पुसदेखि विद्युत उत्पादन हुने बताएका हुन्। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष  घिसिङ र प्राधिकरणका संचालकद्वय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न सुरु गरिएको हो।

तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो। तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको हो।

अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ। त्यसपछि अर्को पाइप जडान सुरू हुनेछ। तल्लो पेनस्टक साफ्टमा तीन सय ७२ मिटरमा ७४ वटा पेनस्टक पाइप जडान गर्नु पर्नेछ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुंडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने÷नगर्ने लगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्यौता हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,’ उनले भने।

अब पुसभित्र विद्युत उत्पादन गर्न सकिने घिसिङले बताए। ‘पहिलो युनिटबाट (७६ मेगावाट) पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका छौं, यसमा केही तलमाथि हुनसक्ला तर आयोजना आर्थिक वर्ष २०७६÷७७ भित्रै निर्माण सम्पन्न हुने छ,’ उनले भने।

उनले क्रेनले ६ मिटर प्रति मिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने बताए। पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन्। उनले आयोजनाको आपूmले लिएको जिम्मेबारी छिट्टो पूरा गर्न निर्देशन दिएका छन्।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो। भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो।

तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि २०७६ पुस १५ गतेभित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ। त्यसपछि हरेक महिनाको फरकमा बाँकी पाँच युनिटबाट विद्युत् उत्पादन गरिने छ।

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, असार २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्