Kathmandu Press

गर्मीले बिहारमा १७३ को मृत्यु, कयौं अस्पताल भर्ना

काठमाडौं, असार २ : भारतको बिहारमा अत्यधिक गर्मीले लू लाग्न थालेको छ। आज बिहानसम्म लू लागेर एक सय ७३ जनाको मृत्यु भएको छ।

भारतीय संचारमाध्यमक....

गर्मीले बिहारमा १७३ को मृत्यु, कयौं अस्पताल भर्ना
एजेन्सी

काठमाडौं, असार २ : भारतको बिहारमा अत्यधिक गर्मीले लू लाग्न थालेको छ। आज बिहानसम्म लू लागेर एक सय ७३ जनाको मृत्यु भएको छ।

भारतीय संचारमाध्यमकका अनुसार, केही दिनयता अत्यधिक गर्मीले ज्यानै लिन थालेको हो। बिहारको औरंगाबाद, नवादा, पटना, पूर्वी बिहार, रोहतास, जहानाबाद र भोजपुर जिल्लामा लू लागेर सर्वसाधारणको मृत्यु भएको हो।

गत दुई दिनमा मात्रै एक सय १२ जनाको मृत्यु भएको जनाएको छ। गया जिल्लामा मात्रै २८ जनाको मृत्यु भएको छ।

यहाँका अस्पतालहरू बिरामीले भरिएका छन्। गया, नवादा र औरंगाबाद जिल्लामा मात्रै तीन सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन्। केही अवस्था गम्भीर रहेको जनाएको छ।

लू लागेर मृत्यु हुनेहरूमा अधिकांश ६० वर्षभन्दा माथिका रहेका छन्।

गर्मीले ज्यानै जान थालेपछि बिहार सरकारले सबै जिल्लामा अतिरिक्त चिकित्सकको व्यवस्था गरेको छ। गाउँ र शहरमा पिउने पानीका ट्यांकर पठाउन थालेको छ।

चिकित्सकहरूका अनुसार, लू लागेका बिरामी बेहोस हुने गरेका छन्। बेहोस भएको एक–दुई घण्टामै मृत्यु हुने गरेको उनीहरूले बताएका छन्।

चिकित्सकहरूले सर्वसाधारणलाई अत्यधिक पानी पिउन सल्लाह दिएका छन्। त्यस्तै, दिउसो बाहिर ननिस्कन, शितलमा बस्न सल्लाह दिएका छन्। त्यस्तै, झोलिलो पदार्थ पिउन र आराम गर्न पनि सुझाएका छन्।

लू लागेका स्थाननमा तापक्रम अत्यधिक बढेको छ। हिजो र आज ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेको जनाएको छ।

गर्मीका कारण यहाँका विद्यालयहरू बन्द गरिएका छन्। दुई सातापछि मात्रै विद्यालय खुल्ने जनाएको छ।

 

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्