कोरोनाको ‘इन्डियन भेरियन्ट’ले नेपालमा मृत्युदर बढायोः विज्ञ
कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ले नेपालमा संक्रमितको मृत्युदर बढाएको विज्ञहरूले बताएका छन्।काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ले नेपालमा संक्रमितको मृत्युदर बढाएको विज्ञहरूले बताएका छन्।
नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै मृत्युदर बढेको छ। मंगलबार एकै दिन दुई सय २५ संक्रमितको मृत्यु भएको थियो। एक्कासी मृत्युदर बढ्नुको मुख्य कारण भारतमा देखिएको नयाँ भेरियन्ट रहेको संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पाले बताइन्।
उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा देखिएको कोरोनाको नयाँ प्रकारलाई पनि ‘भेरियन्ट अफ ग्लोबल कन्सर्न’ सूचीमा राखेको छ। यस्तो सूचीमा नयाँ भेरियन्टलाई राख्नुको अर्थ अत्यधिक जोखिम भएकाले बढी सतर्क हुनुपर्ने भन्ने बुझिन्छ। यसले एक व्यक्तिबाट धेरैमा भाइरस सर्ने, खोपको प्रभावकारिता कम गर्नेलगायत जोखिम देखिएको डब्लुएचओले बताएको छ।
डब्लूएचओका अनुसार ‘बी.१.६१७’ नाम दिइएको कोरोनाको यो भेरियन्ट ४४ मुलुकमा रेकर्ड भएको छ। यसबारे अध्ययन गर्न डब्लूएचओले चार हजार पाँच सय बिरामीबाट नमूना संकलन गरेको थियो। भारतमा व्यापक मात्रामा यही भेरियन्ट फैलिएको डब्लूएचओको भनाइ छ। पछिल्ला दिनमा बेलायतमा पनि सबैभन्दा बढी यही भेरियन्टको संक्रमण देखिएको छ।
‘यसअघि डब्लूएचओले ब्राजिलियन भेरियन्ट, यूके भेरियन्ट र साउथ अफ्रिकन भेरियन्टलाई मात्र ‘भेरियन्ट अफ ग्लोबल कन्सर्न’को सूचीमा राखेको थियो। केही दिनअघि मात्र भारतमा देखिएको भेरियन्टलाई पनि यो सूचीमा राखेको छ,’ डा. शेर्पाले काठमाडौं प्रेससँग भनिन्, ‘नेपालमा अहिलेसम्म त्यसको पुष्टि भएको छैन। तर, भारतकै नयाँ भेरियन्टको कारण नेपालमा मृत्युदर बढी भएको हुनसक्ने सम्भावना बढी छ।’
त्यसबाहेक परीक्षण किट, अक्सिजन र अस्पतालमा बेड अभाव तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको उचित पहुँच नहुनुलगायतका कारणले पनि मृत्यु संख्या वृद्धि भएको हुनसक्ने डा. शेर्पाको भनाइ छ।
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला पनि उनको भनाइमा सहमत छन्। भारतीय नयाँ भेरियन्टको संक्रमणका कारण नेपालमा मृत्युदर बढेको उनले बताए। यस्तै, संक्रमितको संख्या धेरै भएका कारण पनि मृत्युदर बढेको हुनसक्ने उनको तर्क छ।
‘दैनिक लगभग नौ हजारजनामा संक्रमण पुष्टि हुँदा ८० देखि एक सयजनाको मृत्यु भएको देखिन्छ। तर, पहिला संक्रमितमध्ये ०.८ प्रतिशतको मृत्यु हुन्थ्यो भने अहिले १.२ प्रतिशत पुगेको छ,’ डा. कोइरालाले भने, ‘यो अझै दुई सातासम्म कायमै रहने अनुमान गरिएको छ।’
यस्तै, अस्पतालमा बेड तथा अक्सिजन अभावका कारण समयमै उपचार नपाउनु, मानिसहरू पनि अस्पताल जानुको साटो घरमै बस्ने र धेरै गाह्रो भएपछि मात्र अस्पताल धाउनेलगायत कारणले पनि मृत्युदर बढी डा. कोइरालाले बताए।
‘सरकारले दिएको तथ्यांकभन्दा अझै धेरै संक्रमित परीक्षण नगराई घरमै बसिरहेका छन्,’ उनले भने।
अर्का संक्रामक रोग विशेषज्ञ एवं शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला भने मानिसले जनस्वास्थ्यका मापदण्डहरू पालना नगरेकै कारण फेरि संक्रमण बल्झिएको बताउँछन्।
‘यो पुरानै भाइरस पनि हुनसक्छ, नयाँ भेरियन्ट हुने सम्भावना पनि बढी छ। सबैभन्दा ठूलो कारण भनेको हामीले मापदण्डको पालना गर्न छोड्नु नै हो,’ डा. बास्तोलाले भने, ‘हाम्रो समाजमा कोरोना पूर्ण रूपले नियन्त्रण भएको थिएन। जस्तोसुकै भेरियन्टलाई पनि रोकथामको मापदण्ड अपनाइयो भने प्रभावहीन बनाउन सकिन्छ। मापदण्ड नै छोडेपछि त संक्रमितका साथसाथै मृत्यु संख्या पनि बढ्ने नै भयो।’
डा. बास्तोलाका अनुसार टेकु अस्पतालमा दैनिक ६ सय हाराहारीमा मानिसहरू कोरोना परीक्षणका लागि आइरहेका छन्। अस्पतालका सबै बेड भरिँदा अक्सिजन अभाव हुन थालेको उनले बताए। ‘अहिले प्रत्येक घरका सदस्य बिरामी छन्। अब पनि सरकारले यो गर्यो, यो गरेन भन्ने बेला होइन। आफैँ जानेर बुझेर घरमै बस्नुपर्छ,’ उनले भने, ‘र, लक्षण देखिएका मानिसले समयमै जाँच गराउन जरुरी छ।’