Kathmandu Press

जन्मदाता आमाको सम्मान गरी मातातीर्थ औँसी मनाईदैं 

काठमाडौं, वैशाख २८ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा...
जन्मदाता आमाको सम्मान गरी मातातीर्थ औँसी मनाईदैं 

काठमाडौं, वैशाख २८ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्  ।
    
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

 दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो ।

यस्तै औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं।–६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला  स्थगित गरिएको छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नका लागि आग्रह समेत गरिएको छ । 

प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्