Kathmandu Press

सोमबारको प्रतिनिधिसभा बैठकमा ३४ सांसद अनुपस्थित (सूचीसहित)

प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन बोलाइएको प्रतिनिधिसभाको बैठकमा ३४ सांसद अनुपस्थित रहे।
सोमबारको प्रतिनिधिसभा बैठकमा ३४ सांसद अनुपस्थित (सूचीसहित)

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन बोलाइएको प्रतिनिधिसभाको बैठकमा ३४ सांसद अनुपस्थित रहे।

तीमध्ये २८ जना एमालेको नेपाल–खनाल समूहका थिए। तीमध्ये योगेश भट्टराई झलनाथ खनाल, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल र गोकर्ण विष्ट छन्। यस्तै, सोही समूहका सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, भीमबहादुर रावल, दीपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने छन्।

जसपाका लक्ष्मणलाल कर्ण र रुही नाज पनि बैठकमा उपस्थित भएनन्। राप्रपाका राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका गजेन्द्रबहादुर महत पनि बिरामी भई आ–आफ्नै गृहजिल्ला क्रमशः झापा र जुम्लामा रहेकाले बैठकमा उपस्थित भएनन्। नेमकिपाका सांसद प्रेम सुवाल उपस्थित भएर पनि मतदानमा सहभागी भएनन्। माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्की पनि गम्भीर बिरामी भएका कारण सदनमा उपस्थित हुन नसकेको उनी निकट एक केन्द्रीय सदस्यले जानकारी दिए।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ पजिटिभ देखिएका २४ जना सांसद उपस्थित भएको देखिन्छ। तर, उनीहरूमध्ये ६ जना मात्र मतदानमा सहभागी भएको देखिन्छ। अन्य १६ जना मतदानमा सहभागी नभई बाहिरिएको देखिन्छ। यस्तै, एन्टिजेन परीक्षणमा कोभिड–१९ पजिटिभ देखिएका एक सांसद मतदानमा सहभागी भएको देखिन्छ।

‘राजनीतिकभन्दा अन्य कारणबाट पनि माननीयज्यूहरू मतदानमा सहभागी नहुनुभएको जस्तो लागेको छ,’ प्रवक्ता पाण्डेले काठमाडौं प्रेससँग भने, ‘उपस्थित हुनुभएका सांसदहरू पनि कोभिड–१९ का कारण बस्नै नसक्ने स्वास्थ्य अवस्थाले गर्दा मतदान नगरी बाहिरिनुभएको हुन सक्छ।’
 

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्