प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनु उपयुक्त : प्रचण्ड
संघीय संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सदनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट भएको बताएका छन् ।
काठमाडौं, वैशाख २७ : संघीय संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सदनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट भएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल भाग लिँदै प्रचण्डले ओलीले सरकार सम्हालेदेखि यताका सबै गतिविधि हेर्दा विश्वासको मत दिनुपर्ने कुनै आधार नभएको बताए ।
प्रतिनिधिसभा पुनःस्थापनालगत्तै आफूले ओलीलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाव दिएको उल्लेख गरे । अहिले पनि नैतिकताका आधारमा राजिनामा दिन आग्रह गरे ।
इतिहासका विसंगतिहरूको पुनरावृत्ति नहोस् भनेर संविधानको धारा ७६ (१) देखि (७) सम्मका प्रावधान राखिएको उनले स्मरण गरे । ‘हामीले के सोचेर संविधान बनायौँ, तीन वर्षभित्रै विश्वासको मत, अविश्वासको प्रस्तावको दुष्चक्रमा मुलुक फसेको छ,’ उनले भने ।
देशमा फेरि विसंगति नआओस् भनेर वाम गठबन्धनको प्रस्ताव आफूले अगाडि सारेको उनले स्मरण गरे । आफूले नै ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्मरण गरे ।
‘तीन वर्ष पुग्दा नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत भएको र संविधान नै कोतरिएको र संविधानलाई नै कोरोना लागेको र आईसीयूमा राखेको अवस्थाबाट हामीले गुज्रिनुपरेको छ । त्यसको जिम्मेवार को ?’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीजी, छातिमा हात राखेर भन्न सक्नु हुन्छ ?’
आफूलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या नै हो भनेको उनले उल्लेख गरे । र, प्रधानमन्त्रीसँग आधिकारिक र प्रामाणिक कुनै आधार नभएको उनले बताए ।
‘पार्टीभित्र कचिंगल भयो भनेर प्रतिनिधिसभा नै विघटन गरेर तपाईंले यो सदनलाई न्याय गर्नुभएको हो ?’ उनले प्रश्न गरे ।
प्रधानमन्त्रीले आफ्नो दम्भका कारणले संसदलाई मार्ने प्रयास गरेको बताए । ‘तपाईंले यो सदनसँग विश्वासको मत माग्नै नैतिक अधिकार छ र ?’ उनले प्रश्न गरे ।
फेरि संविधानको धारामा जाने र फेरि संसद् विघटनको बाटो बनाउन प्रधानमन्त्रीले विश्वासको मत मागेको हुन सक्ने शंका व्यक्त गरे ।
‘जतिबेला अदालतले दुई पार्टीलाई अलग बनाइदियो, ३० दिनभित्र विश्वासको मत माग्न जानुपथ्र्यो, लोकतान्त्रिक त्यही हुन्थ्यो,’ उनले भन्थे, ‘तपाईंले ७१ (१) बाट ७६ (२) मा गएपछि तपाईंले समर्थन फिर्ता किन लिएको भनिरहनुभयो । समर्थन फिर्ता लिएपछि तपाईंले फेरि सदन विघटन गर्नु हुन्छ भनेर हामीले समर्थन फिर्ता लिएका थिएनौँ । अहिले तपाईँले अहिले विश्वासको मत लिने कुरा अलिकति नाटके नाटके लाग्छ । यो अधिवेशन बोलाउँदा यो अधिवेशन बोलाउनु पनि प्राकृतिक होइन । नियमित अधिवेशन बोलाएर त्यहीँ विश्वासको मत लिए हुन्थ्यो नि ।’
संविधानमा विशेष अधिवेशन २५ प्रतिशत सांसदले बोलाउने हो, प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउने कुरा परिकल्पना गरेको छैन । ‘तपाईंलाई अपनाएको प्रक्रिया लोकतान्त्रिक छ ? अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी ढंगले सदन विघटन गरेजस्तै गर्न खोज्नुभएको छ होइन भन्ने शंका आम जनतामा छ, मसँग पनि छ,’ प्रचण्डले भने ।
प्रधानमन्त्री ओली मनमा एउटा, मुख र अनुहारमा अर्कै देखिने मान्छे रहेको आरोप प्रचण्डले लगाए । ‘तपाईं सत्तामा पुगेपछि तपाईंमा जुन दम्भ र अहंकार देखियो, बडो अनौठो भयो,’ उनले भने, ‘कोभिडको दोस्रो लहर सुरु हुँदै गर्दा हजारौँको जुलुस र रथयात्रामा हिँड्नुभएको होइन ? तपाईंले नै अनुशासन तोड्नुभएको होइन ?’
स्मार्ट सिटीको कुरा गर्दा चितवनलाई किन छुटाउने पूर्वाग्रह राखेको भन्दै प्रचण्डले प्रश्न गरे ।
‘मौका पाउनासाथ यो सदन विघटन गर्न खोजिरहनुभएकै छ,’ उनले भने, ‘आज विश्वासको मत लिनु थियो भने हिजो अध्यादेशबाट संवैधानिक निकायमा किन पदपूर्ति गर्नुभएको ? पद र शक्तिमा भएपछि सबैलाई मिचेर देखाइदिन्छु भन्ने पो आयो कि के हो तपाईंलाई ?’
प्रधानमन्त्रीले भन्ने गरेको उपलब्धि फिल्डमा जनताले महसुस गर्न नसकेको स्पष्ट गरे । औषधि खरिदमा कमिसनको खेल भएको स्थापित भएको बताए ।
‘ज्यान जाला तर कुर्सीचैँ छोड्नु हुन्न भनेर तपाईं बल गरिरहनु भएको छ, अब तपाईंबाट म पनि त्यही सिक्ने पक्षमा छु,’ प्रचण्डले भने । यही सदनभित्र ७६ (२) अन्तर्गतको सरकार बन्न सक्ने अवस्था रहेको बताए ।











-1790332718.jpg)