Kathmandu Press

‘जनप्रतिनिधिहरुले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ’

‘जनप्रतिनिधिहरुले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ’

काठमाडौं, वैशाख २७ :  प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताएका छन्।

वर्तमान समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको बताउँदै उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने कुनै कारण नभएको बताए । उनले भने, ‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपर्ने अवस्था छ ।  यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन।’

राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमनालाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बारे तथ्य आफैं बोल्ने प्रधानमन्त्रीले दाबी गरे । ‘हामीले लिएका अडान आफैं बोल्छन् । हामीले प्राप्त गरेका उपलब्धी आफैं बोल्छन् ,’ प्रधानमन्त्री ओलीले भने।

साथै प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाधीनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । उनले राष्ट्रियताको पक्षमा त्यति सुदृढ र सक्षम ढंगले सरकार अगाडि बढेको पनि उल्लेख गरे।

 

 

 

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्