Kathmandu Press

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै भने– औषधि खरिदमा नभएको कनेक्सन जोड्न खोजियो

प्रधानमन्त्री केपी ओलीले कोभिड महामारीविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै भने– औषधि खरिदमा नभएको कनेक्सन जोड्न खोजियो
kp oli

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले कोभिड महामारीविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा साथ नपाएको दाबी गरे ।

‘हामी कोभिडविरुद्धको लडाइँमा छौँ, कतिपय कर्नरबाट कोभिडविरुद्धको औषधि खरिदमा भएको भ्रष्टाचारको कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले उठाउने काम भयो,’ उनले भने ।

उनले कोभिडविरुद्ध खोप व्यापक बनाइएको दाबी गरे ।

अनअफिसियल हस्ताक्षरमा प्रधानमन्त्रीको हस्ताक्षर किर्ते गरिएको उनले दाबी गरे । ‘कहीँ अनअफिसियल डकुमेन्टमा हस्ताक्षर हुन्छ ?’ उनले भने, ‘हुन्थ्यो भने अफिसियल डकुमेन्टमा हस्ताक्षर गरिन्थ्यो होला नि ।’

आफूले यस सदनको विश्वास छ भन्ने उचित ठानेकाले यो प्रस्ताव राख्न सदनमा उभिएको उनले बताए ।

सार्वजनिक भावना र हितहरूको प्रतिनिधित्व आफूहरूले गर्ने दाबी गरे । आबद्धता हेरेर होइन, सत्यलाई पछ्याएर निर्णय गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

सच्याइलाई पछ्याउने हो भने वर्तमान सरकार कुनै हिसाबले अविश्वास गर्नुपर्ने सरकार नभएको दाबी गरे । राष्ट्रियताको रक्षाको प्रश्नमा, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन सरकारले कुनै कसर नराखेको दाबी गरे ।

आफू नेतृत्वको सरकारलाई विश्वास गर्नका लागि आफ्ना काम आफैँ बोल्ने उनले दाबी गरे । ‘यो सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन सक्दैन,’ उनले थप दाबी गरे ।

आधारभूत रूपमै संविधान मान्दिनँ भन्ने समस्या नरहेको ओलीले बताए । व्यावहारिक ढंगले समयानुकुल ढंगले संविधानमा संशोधन गर्न सकिने बताए । संविधान संशोधनका लागि कार्यदल बनाउन सकिने उनले थपे । उनको लक्ष्य जसपाका नेताहरूलाई फकाउने प्रयासतर्फ थियो ।

बिखण्डनकारी र हिंसालाई माध्यम बनाउने विचार र मार्ग परित्याग गराएर शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याइएको बताए ।

सफलता नदेख्ने र एकआध सफलता पाउन बिलम्ब भयो भने बढाइचढाइ प्रचार गरिएको दाबी गरे ।

राजनीतिक शक्तिहरूका बीचमा घाउ कोट्याइ–कोट्याइ र किन टुक्रिँदैन भनेर तन्काइरहँदा शान्ति सुरक्षाको स्थिति राम्रो रहेको दाबी गरे ।

भौतिक पूर्वाधार विकासको क्षेत्रमा, नेपाललाई सुरुङमार्गमा प्रवेश गराउने, नयाँ हवाई मैदानको काम अगाडि बढाउने सन्दर्भमा, सञ्चारको क्षेत्रमा धेरै काम भएको दाबी गरे । आफ्नो मोबाइलबाट घरमै बसेर आफ्नो जमिनमा के कमी छ भन्ने थाहा पाउने प्रविधि विकास गरिएको दाबी गरे ।

डिजिटल नेपाल बनाउन फोरजी सेवा सबैतिर पु¥याइएको र फाइभजी सुरु गरिएको बताए । मेलम्ची अगाडिदेखि सुरु भएको र राजा वीरेन्द्रको पालादेखि बहस सुरु भएको, किसुनजीले ०४८ सालमा उठाएको, अगाडिका सरकार पनि लागेको र वर्तमान सरकारको विशेष तदारुकताका कारण मेलम्ची काठमाडौंमा ल्याइएको दाबी गरे ।

छोटो अवधिमै धरहरा र रानीपोखरी निर्माण गरिएको बताए । प्रधानमन्त्री कार्यालयलाई पहिले भत्किएकै ठाउँमा सारिएको बताए । पुनर्निर्माण असाधारण ढंगले भएको अर्को दाबी गरे ।

दिनमा ६ किलोमिटर कालोपत्रे सडक निर्माण भइरहेको बताए । र, पहिले वर्षमा १० किलोमिटर मात्र कालोपत्रे हुने गरेको दाबी गरे । सडक बालबालिका मुक्त देश बनाइएको दाबी पनि गरे । आफूले नेपाललाई मान्छे बस्नयोग्य समाज बनाएको थप दाबी गरे ।

अरूले भने स्वार्थ पूरा गर्ने माध्यम मात्र बनाउन खोजेको उनले आरोप लगाए । काम गरे पनि जस नदिने गरिएको बताए ।

बाहिर हुँदा फोन गरेन भनेर रिस थियो भने पनि छाडिदिन उनले सांसदहरूलाई आग्रह गरे । ‘यही सदनको बलले तीन वर्ष रहेँ, यही सदनको बलले फेरि रहन्छु भन्ने विश्वास छ,’ उनले भने, ‘म छँदा छँदै सदनले अर्को प्रधानमन्त्री कसरी बनाउँछ भनेर म चिताउँछु र ?’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि यति लामो समय कसैले आफूमाथि अविश्वास नगरेको उनले बताए । ‘पार्टी अलग भएपछि र विश्वास छैन भन्दा पनि समर्थन त फिर्ता लिनु भएन,’ उनले भने ।

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्