मानन्धरको चेतावनी–गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलनको आँधीबेहरी ल्याउँछाैं
काठमाडौं, जेठ ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भन्ने सूचना तथा सञ्चार प्रविधि मन्....

काठमाडौं, जेठ ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भन्ने सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनु पर्ने बताएका छन्।
गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै सांसद मानन्धरले तत्काल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिनु पर्ने बताएका हुन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा उनले भने,‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्। होइन भने राजीनामा दिनुस्। प्रवक्ता जनताको हो। धेरै ठूलो स्वरले बोल्ने होइन।’
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिऊ थप्ने काम गरेको मानन्धरको आरोप छ। ‘आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ,’ उनले भने।
मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो। प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी उनले दिए।
‘म यहीँबाट भन्न चाहन्छु, यदि प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दै गर्नुहोला काठमाडौं के हुन्छ? यो मेरो चुनौती होइन, सरकारलाई सुझाव हो,’ सांसद मानन्धरले भने।
सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दाबी छ। बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ।










