Kathmandu Press

यस्तो रह्यो यो साताको शेयर बजार, अब के होला?

काठमाडौं, जेठ ३२ : गत साता नेप्से परिसूचक १२८४ दशमलव ५९ विन्दुमा खुलेको थियो भने १२८९ दशमलव ५४ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो....

यस्तो रह्यो यो साताको शेयर बजार, अब के होला?

काठमाडौं, जेठ ३२ : गत साता नेप्से परिसूचक १२८४ दशमलव ५९ विन्दुमा खुलेको थियो भने १२८९ दशमलव ५४ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो। ‘इन्ट्राडे’ न्यून विन्दु १२६४ दशमलव ४६ थियो भने बजार १२६९ दशमलव ५५ विन्दुमा बन्द भएको थियो।

यो अघिल्लो साताभन्दा १ दशमलव १६ प्रतिशतको गिरावट हो।  यो साता चार कारोबार दिनमा २ अर्ब ५ करोड ४ लाख बराबर रकमको शेयर कारोबार भएको छ। 

प्राविधिक विश्लेषण 
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति

Hardik ivf

विगत १० महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो साताको विश्लेषणको निष्कर्ष अनुसार बजार केही सच्चिन सक्ने सम्भावनालाई नकार्न सकिन्न र तत्कालीन टेवा १२७० मा रहेको भनिएको थियो। यो साता बजार केही सच्चिएको र नेप्से परिसूचक १२७० भन्दा तल रहेपनि चित्र नं. १ मा देखिए बमोजिम बजार हाल पनि टेवा क्षेत्रमा रहेको देखिन्छ।

तर, बजार सकारात्मक भइहाल्ने संकेत भने देखिएको छैन। चित्रमा देखिए बमोजिम यो साताको मैनबत्ती आकृतिले पनि बजारमा विक्रेताको चाप रहेको संकेत गरेको तर हाल बजार टेवा क्षेत्रमा रहेकाले खरिदकर्ताहरु बजारमा प्रवेश गर्ने सम्भावनालाई नकार्न सकिन्न। २०० एक्पोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्ति माथि नै रहेकाले हालसम्म बजार सकारात्मक क्षेत्रमा नै रहेको संकेत गर्दछ। 

चित्र नं.२: दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दैनिक मैनबत्ती प्रवृत्तिले गत १ महिनादेखि नेप्से प्रवृत्तिहीन रहेकोमा हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। गत साता १४ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्से प्रवृत्ति तल रहेको थियो र बजार घट्न सक्ने संकेत गरेवापत यो साता पनि बजार घट्दो प्रवृत्तिमा नै रहेको देखिन्छ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३९ दशमलव ८७ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। यो साता चार दिनको मैनबत्तीलाई समग्रमा हेर्ने हो भने क्रेताभन्दा विक्रेता हाबी रहेको देखिएको छ। परिमाणले विक्रेताको चाप केही कमजोर हुन थालेको संकेत गरेको छ।

निष्कर्ष 

हालसम्म नेप्से प्रवृत्ति र सूचकका आधारमा २ सातादेखि बजार घट्दो प्रवृत्तिमा रहे पनि विक्रेताको चाप कम हुँदै गएको देखिन्छ।

तर, बजार सकारात्मक भइहाल्ने  बलियो संकेत भने दिएको देखिँदैन। यस्तो अवस्थामा बजारबाट हुन सक्ने जोखिम कम गर्नलाई बजारको प्रवृत्ति र सूचकहरुको सकारात्मक संकेत कुर्नु पर्ने देखिएकाले हाल ‘पर्ख र हेर’ को रणनीति अपनाउन उपयुक्त देखिन्छ। 

यदि बजार १२७५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन मुख्य प्रतिरोध १३०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, तत्कालीन टेवा १२५० देखि १२६० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, जेठ ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्