Kathmandu Press

गर्भवतीको गर्व : नांगो छालामा होइन, पेटभित्रको बच्चा र सिंगो आमाप्रति संवेदनशील हुने कहिले ?

सृष्टिको सबैभन्दा सुन्दर, सबैभन्दा अहं, सबैभन्दा गरिमामय कुरा नै एउटी महिला वा कुनै पोथी जाति गर्भवती हुनु हो । यसमा पेट छोप्नुपर्ने किन ? हाम्रो दिमागमा गढेको परम्परागत मान्यता कहिले पखालिने हो ?
गर्भवतीको गर्व : नांगो छालामा होइन, पेटभित्रको बच्चा र सिंगो आमाप्रति संवेदनशील हुने कहिले ?

यतिखेर अभिनेत्री प्रियंका कार्कीको ‘गर्भवती तस्बिर’माथि टीका–टिप्पणी भइरहेको छ । सकारात्मक टिप्पणी गर्नेहरुले उक्त तस्बिरलाई विशेषतः ‘गर्भवतीको गर्व’का रूपमा व्याख्या गरेका छन् । त्यस्तै, नकारात्मक टिप्पणी गर्नेहरुले ‘नग्नतावा अश्लीलता प्रदर्शन’को संज्ञासम्म दिइरहेका छन् । 

तस्बिरमा अभिनेत्री कार्कीले आफूले जुस पिइरहेकी छन्, अनि आफ्नो गर्भमा भएको बच्चाले पनि जुस पिइरहेको आभास दिने गरी नांगो पेटमा चित्रकला भरेकी छन् । चित्रमा नाभीलाई केन्द्र अर्थात् मुख मानिएको छ, त्यसमा जुस स्टिक जोडिएको छ । अनि, उनले आफ्ना छोप्नुपर्ने अंग राम्रोसँग छोपेकी छन् । उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ (यद्यपि यो तस्बिर पछाडिको सत्यका बारेमा यो पंक्तिकार जानकार छैन, देखिएको तस्बिर र भइरहेको टीकाटिप्पणीलाई लिएर यहाँ आफ्नोविचार अभिव्यक्त गरेकी हुँ) ।

आफू गर्भवती भएको सुखद सन्देश नांगो पेट वा छोपिएको ठूलो पेटको फोटो राखेर दिने प्रचलन विश्वमा नयाँ होइन, यस्ता अभ्यास हुँदै आएका छन् । अभिनेत्री कार्कीको भाइरल तस्बिरको सौन्दर्य केलाउन अलिकति सामाजिक पृष्ठभूमि वा मूल्य–मान्यताभित्र प्रवेश गर्नुपर्छ । पेटमा बच्चा हुर्किरहेको अवस्थामा कस्तो अनुभूति हुन्छ, कस्तो मानसिक अवस्था झेल्नुपर्छ– यसमा म भुक्तभोगी होइन । तर, विवाह, गर्भधारण, सन्तानको कल्पनाले म पनि कहिलेकाहीँ सोचमग्न हुन्छु, आत्तिन्छु पनि । अरुको सुत्केरी व्यथालाई देखेकी छु । छोरी जन्माएपछि परिवारबाट हेलाहोँचोको व्यवहार भोगेका दिदीबहिनी, आमा–सानिमाहरुको दुःखलाईनजिकबाट नियालेकी छु । 

Hardik ivf

विज्ञानको विकास भयो, तर छोरा र छोरी, जातपातजस्ता विभेदकारी संकीर्ण सोचबाट हामी अझै मुक्त हुन सकेका छैनौँ । अवैध होस्, गर्भको बच्चा छोरी हो भन्ने छुट्टियो भने गर्भपतन गराउनेहरु समाजमा अझै छन् । पुरुषहरु सार्वजनिक चोक, चौतारी, चियापसल, मन्दिर, पाटी–पौवा आदिमा नांगो छाती गर्वका साथ देखाएर बसिरहेका हुन्छन् । तर, छोरी मान्छेलाई छातीले आकार नलिँदै छोप्न सिकाइन्छ । महिलाको संवेदशील अंग देखेर पुरुष उत्तेजित हुन्छ रे, तर नांगो पुरुषलाई देखेर महिलालाई के कस्तो महसुस हुन्छ भनी यो समाजले बहस गर्ने रुचि देखाउँदैन । छोरी मान्छे पुरुषबाट जोगिएर बस्न पनि आफ्ना संवेदनशील अंग छोप्नैपर्छ भन्ने बुझाइ छ र त्यस्तै बुझाइन्छ । मानौँ, महिलाहरु महिला भएकै कारण पुरुषबाट जोगिएर हिँड्नुपर्छ, पुरुषलाई जे गर्ने पनि छुट छ, उसले बलात्कार पनि गर्न सक्छ । त्यसैले पुरुषबाट जोगिन महिलाले आफ्ना अंग छोपेर हिँड्नैपर्छ । 

विवेक र अविवेक, सभ्य र असभ्यको कसीबाट केलाउँदा मानिसको इतिहास लामो छ । समूहमा बस्ने, एक समूहले अर्को समूहलाई आक्रमण गर्ने यसरी नै राज्यको उत्पत्ति भएको तथ्य प्रमाणित छ । युद्धहरुमा सबैभन्दा बढी महिला र केटाकेटीले बढी प्रताडना खेप्नुपथ्र्यो । युद्धमा हार्नेहरुलाई दास बनाउने, बलात्कार गरिने इतिहास र साहित्य हामी पढ्न पाउँछौँ । दोस्रो विश्वयुद्धमा जापानी सेनाले यौनदासी बनाएका कोरियाली महिलाको न्यायका बारेमा पछिल्लो समय आवाज बुलन्द पारिएको थियो । हामीकहाँ पनि पछिल्लो माओवादी सशस्त्र विद्रोहमा बलात्कारका घटना भएका थिए । यसमा मानिसको चेतना, विवेक, सामाजिक मूल्य–मान्यता, सामाजिक न्याय, विधिको शासन, दण्डहीनता, पितृसत्ता जस्ता कुरा आउँछन् । त्यसैले सभ्यताको इतिहासमा जेजस्ता मूल्य–मान्यता बने, त्यसका आफ्नै नियम र अन्याय पनि जोडिएका थिए । आज आएर प्रश्न यो हो– के अझै पनि पुरुष अविकेकी छ, खराब छ, बलात्कारी छ, जे पनि गर्न सक्छ भनेर महिला डराएर, जोगिएर बस्नुपर्ने ?

समाजमा युवायुवतीबीच प्रेम हुन्छ, त्यो प्रेम नैतिक वा अनैतिक जस्तो होस्, गर्भ रहन गयो भने महिलाले नै प्रताडना खेप्नुपर्छ । फलानीले पेट बोकी छे, कस्ती नकच्चरी ! सजिलो छ, महिलालाई गाली गर्न । महिलाले एक्लै पेट बोक्छे ? त्यहाँ पुरुषको भूमिका हुन्न ? आरोप महिलामाथि आइहाल्छ । मानौँ, पेट बोकाउने पुरुषले कुनै गल्ती गरेकै छैन । पेट बोकाउने पुरुषले त बहादुरी ग¥यो जसरी समाजले महिलाको मात्र गल्ती देख्छ । अझै पनि झाडीहरु र नदीका किनारहरुमा नाबालकका शव भेटिन्छन् । अनि अनुमान हुन्छ, यो पक्कै पनि अवैध सन्तान हुनुपर्छ । जन्मन पुगेको बच्चाको के दोष ? ऊ कसरी अवैध भयो ? वैध र अवैध त समाजको कुरा हो । 

यो पृष्ठभूमिमा अभिनेत्री कार्कीले गर्वका साथ आफू गर्भवती भएको फोटो सार्वजनिक गरिन्, यो त सुन्दर कुरा हो । हामीले त महिलाको अंश र वंशको हकको कुरा गरिरहेका छौँ । आमाको नामको नागरिकताबाट सन्तानको पहिचानको कुरा गरिहेका छौँ, तर समाज गर्भवती महिलाको नांगो पेटको पछि लागिरहेको छ, गर्भ नै अवैध हो जसरी । नांगो छालामा होइन, यो समाज पेटभित्रको बच्चा र सिंगो आमाप्रति संवेदनशील हुने कहिले ?

सौन्दर्य र श्लील, नग्न र अश्लीलको परिभाषा पनि पुरुषवादी सोचमै आधारित देखिन्छ । एउटी आमाले सन्तानलाई सार्वजनिक ठाउँमा दूध चुसाइन्, के त्यो नग्न प्रदर्शन हुन्छ ? एउटी गर्भवती हिँड्दाहिँड्दै कुनै सार्वजनिक ठाउँमा नांगै भएर बच्चा जन्माइन्, के यो अश्लील हुन्छ ? सृष्टिको सबैभन्दा सुन्दर, सबैभन्दा अहं, सबैभन्दा गरिमामय कुरा नै एउटी महिला वा कुनै पोथी जाति गर्भवती हुनु हो । यसमा पेट छोप्नुपर्ने किन ? हाम्रो दिमागमा गढेको परम्परागत सोच वा मान्यता कहिले पखालिने हो ?

हिजो समाजमा ५० वर्षको पुरुष र १३ वर्षकी बालिकाबीच बिहे हुन्थ्यो, सात वर्षकी बालिका र १० वर्षको बालकबीच बिहे गराइन्थ्यो, जातपातको विभेद गरिन्थ्यो, सक्नेले नसक्नेमाथि मनलागी गथ्र्यो, के अझै पनि त्यही ठीक मानेर बस्ने ?हामी सभ्य र सामाजिक न्यायको पक्षधर हुने कहिले ?
 

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्