मणिपाललाई कोरोना विशेष अस्पताल बनाइने
जनकपुरधाम, वैशाख २३ : प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू...
जनकपुरधाम, वैशाख २३ : प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ।
सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको छ।
सोका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको छ। इञ्जिनीयर भगवान् झाका अनुसार प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्य सम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रता दिइने छ।
सो भवनमा कोरोना अस्पताल सञ्चालन सन्दर्भमा भवन र परिसर प्रहरीको जिम्मा दिई अस्पताल सञ्चालनको पूर्व व्यवस्थापन गरिने बताइएको छ।
प्रयोगविहीन रहेको मणिपाल शिक्षण अस्पतालका कोठाहरूमा झ्याल नभएको, रङरोगन र ढोका जीर्ण अवस्थामा रहेको बताइएको छ। इञ्जिनीयर झाले अस्पताल सञ्चालनका लागि जनशक्ति भर्नाको कार्य पनि शुरू गरिएको बताए।











