Kathmandu Press

टोखाको वीणा आवासको कम्युनिटी शुल्कमा मनपरी

राजनीतिक दलका नेतादेखि उच्चपदस्थ सरकारी कर्मचारीहरू बस्दै आएको राजधानीको टोखास्थित वीणा आवासमा साना प्लटका घरहरूलाई मर्का पर्नेगरी व्यवस्थापन शुल्क बढाइएको छ।
टोखाको वीणा आवासको कम्युनिटी शुल्कमा मनपरी

काठमाडौं, वैशाख २० : राजनीतिक दलका नेतादेखि उच्चपदस्थ सरकारी कर्मचारीहरू बस्दै आएको राजधानीको टोखास्थित वीणा आवासमा साना प्लटका घरहरूलाई मर्का पर्नेगरी व्यवस्थापन शुल्क बढाइएको छ।

यसअघि जग्गाको स्क्वायर फिटको आधारमा प्रत्येक घरले मासिक तिर्नुपर्ने व्यवस्थापन शुल्क निर्धारण हुँदै आएकोमा ठूला घर हुनेहरूको दबाबमा अहिले साना घरहरूले तिर्नुपर्ने शुल्क बढाइएको हो।

उक्त आवासमा कुल एक सय चार घर छन्। सुरुदेखि नै सहमतिमा प्रतियुनिट वर्गफुटअनुसार प्लटको क्षेत्रफलका आधारमा रकम निर्धारण गरिँदै आएकोमा गत माघदेखि भने नयाँ समिति बनाई उक्त नियमलाई हटाई सबैलाई समान रूपमा कम्युनिटी शुल्क लिन थालिएको स्थानीय सिद्धराज पन्तले बताए।

‘चार आना जग्गा भएकालाई र दुई रोपनी जग्गा भएकालाई एउटै कम्युनिटी शुल्क लिँदा कम जग्गा भएकाहरूलाई भार परेको छ,’ पन्तले काठमाडौं प्रेससँग भने, ‘त्यसैले कम जग्गा हुनेलाई कम शुल्क र बढी जग्गा हुनेलाई बढी शुल्क लिनुपर्छ भन्ने हाम्रो माग छ।’

प्लटको क्षेत्रफलअनुसार पहिला मासिक १४ हजार तिर्नुपर्ने मानिसहरूले अहिले जम्मा तीन हजार पाँच सय शुल्क तिरिरहेका छन्। साना घरहरूको भने पहिला तिर्दै आएको रकममा वृद्धि गरिएको छ। पहिला दुई हजार मात्र तिर्नेहरूले पनि अहिले तीन हजार तिर्नुपरेको छ।

यसरी बढी रकम तिर्नुपर्नेले कम र कम तिर्नु पर्नेले बढी शुल्क बेहोर्नु परेबाट सानो प्लटमा घर हुनेहरू मर्कामा परेको स्थानीय बासिन्दाको गुनासो छ।

स्थानीयवासीले शुल्कमा देखिएको विभेद समाधानका लागि गत चैतमा कम्युनिटी शुल्क पुनर्निर्धारण गर्न वैकल्पिक प्रस्तावसमेत दिइसक्दा पनि वीण आवास व्यवस्थापन समितिबाट कुनै चासो दिइएको छैन।

‘अहिलेको समितिले ल्याएको नीतिको कुनै आधार छैन। पहिलाजस्तै प्लटको क्षेत्रफलको आधारमा कम्युनिटी शुल्क निर्धारण हुनुपर्छ,’ पन्तले भने।

वीणा आवास व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला भने समितिले सबैको अवस्थालाई मध्यनजर गर्दै समान शुल्कको नीति ल्याएको दाबी गर्छन्। समितिका सबै सदस्यको उपस्थितिमा बसेको बैठकले विगतमा ६ वटा शुल्कको स्ल्याब तोकेकोमा अहिले दुईवटा मात्र स्ल्याबको आधारमा कम्युनिटि शुल्क लिने निर्णय गरिएको उनले बताए। ‘यो त्यति ठूलो समस्या होइन। एक–दुईजनाको असन्तुष्टि हुनु स्वाभाविकै हो,’ उनले भने।

अहिले वीणा आवासवासीहरूलाई आफ्नो कम्पाउन्डभन्दा बाहिरको सुविधाका लागि कम्युनिटी शुल्क लिइरहेको उनले बताए। जसअन्तर्गत बगैँचा, सुरक्षा, सामाजिक सम्पत्तिको सुधार तथा संरक्षणलगायत सुविधाका लागि शुल्क लिइरहेको उनले बताए।

अहिले कार्यान्वयनमा रहेको दुईवटा स्ल्याबमध्ये २५ सय स्क्वायर फिटभन्दा तलका जग्गाधनीहरूलाई तीन हजार र सोभन्दा माथि स्क्वायर फिटका जग्गाधनीहरूलाई तीन हजार पाँच सय शुल्क लिइरहेको कोइराला बताउँछन्। शुल्क पुनर्निर्धारणको प्रस्तावको विषयमा भने हरेक वर्ष असारमा हुने साधारणसभामा उक्त प्रस्तावलाई हेरेर सभाले नै निर्णय गर्ने उनले बताए।
 

प्रकाशित मिति: १४:३० बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्