एमबिबिएस डाक्टर नहुँदा आइसोलेशन सञ्चालन समस्या

धनगढी, वैशाख २० : एमबिबिएस डक्टर नहुँदा कैलालीको घोडाघोडी नगरपालिकामा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा समस्या भएको छ। नगरपालीकाले एमबिबिएस डक्टरमार्फत गाउँबाटै सेवा दिने भने पनि अहिलेसम्म पदपूर्ति हुन नसक्दा समस्या भएको हो।
पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको सुरुमै संघीय सरकारले र १० लाख रुपैयाँ पठाए पनि चिकित्सक अभावले उक्त कार्य पूर्ण हुन नसकेको नगरपालिकाले जनाएको छ।
यसअघि नगरपालिकाले चिकित्सक पदपूर्तिका लागि गरेको विज्ञापनमा एक जनाको मात्रै आवेदन परेकोमा ती व्यक्ति पनि अन्तर्वार्ताका लागि नआउँदा पदपूर्ति हुन नसकेको हो। चिकित्सक नभएको र आइसोलेशन सञ्चालन गर्ने अधिकार नगरपालिकालाई नभएकाले पूर्ण रूपमा तयार रहँदारहँदै पनि अहिले सञ्चालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ।
अहिले जटिल प्रकृतिका सङ्क्रमित सम्पर्कमा आउँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउनुपर्ने बाध्यता छ । नगरपालिकाले एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको पदपूर्तिका लागि गरेको विज्ञापनमध्ये अन्यको भने पदपूर्ति भएको र चिकित्सक ल्याइने प्रयास गरिरहेको छ।











