नवलपरासीको त्रिवेणी नाकामा हेल्थ डेस्क
नवलपरासी, वैशाख २० : भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिकामा पर्ने...
नवलपरासी, वैशाख २० : भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिकामा पर्ने उक्त नाकामा हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी खटाइएको छ।
हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको गाउँपालिकाले जनाएको छ। डेस्कबाट सीमा नाका हुँदै आवतजावत गर्नेको ज्वरो जाँच गर्दै उनीहरुको ठेगाना लेख्ने काम गर्ने जनाइएको छ ।
गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।
प्रदेशकै एकमात्र भारतसँग सीमा जोडिएको नाका भएकाले प्रदेश सरकारले नै स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यस्तो नगरी गाउँपालिकालाई नै जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी राख्न नसकिएको गाउँपालिका अध्यक्ष डम्मरबहादुर जिसीले गुनासो गरे। सिमानामा प्रदेश सरकारबाट नै कर्मचारी राख्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको जिसीले बताए । उनुभयो ।
गत वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण बन्द गरिएको त्रिवेणी भन्सार नाका १३ महिनासम्म खुल्न सकेको छैन । नाका नखुल्दै फेरि त्यहाँ हेल्थ डेस्क स्थापना गरिएको हो । पर्याप्त मात्रामा स्वास्थ्यकर्मी राखेर कम्तीमा भारतबाट त्यो नाका हुँदै नेपाल भित्रिनेको पिसिआर परीक्षणको व्यवस्था गर्न सके प्रभावकारी हुने जिसीको भनाइ छ ।
भारतबाट नेपाल भित्रिनेको सीमाबाटै पिसिआर परीक्षण नगरी घर पठाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा कार्यरत दुईजना कर्मचारीबाट ज्वरो नाप्ने र ठेगाना लेख्नेबाहेक अरू काम हुन नसक्ने जिसीको भनाइ छ । त्रिवेणी नाकामा प्रदेश सरकारले चासो नदिएका कारण पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन नसकिने उनले बताए ।











