ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु
ताप्लेजुङ, वैशाख १८ : ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक बृद्ध र वृद्धा महिलाको सङ्क्रमणका...
ताप्लेजुङ, वैशाख १८ : ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक बृद्ध र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो। कोरोना सङ्क्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो।
यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो।
घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको परिवारका आफन्तले आपूmलाई जानकारी गराएको प्रजिअ पाण्डेले बताए। पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।
यता मृतक वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन्। परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराइएको थियो। जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताए।











