Kathmandu Press

कैलालीमा कोरोना संक्रमणदर बढ्यो , रोकथाम फितलो

कैलाली, वैशाख १८ ः कैलालीमा पछिल्लो समय कोरोन संक्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ। जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम...
कैलालीमा कोरोना संक्रमणदर बढ्यो , रोकथाम फितलो

कैलाली, वैशाख १८ : कैलालीमा पछिल्लो समय कोरोन संक्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ। जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन्।

पहिलो चरणको संक्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रीत स्थानीयत तहले अन्य कामलाई थाती राखेर कोरोना संक्रमितका लागि चाहिने आवश्यक पूर्वाधारलाई अहिले धमाधम अगाडि बढाउन थालेका हुन्। 

संक्रमणको दर बढेको भएपनि शुरुआती अवस्थामा यस तर्फ केन्द्रीत  हुन नसकेका स्थानीय तहले स्थिति नियन्त्रण भन्दा बाहिर जानलागेको जनाउँदै तयारी शुरु गरेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसंह बिकले जानकारी दिए। उनले नगरपालिकामा पनि सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको जनाउँदै आकस्मिक रुपमा ५ श्ययाको अक्सिजन जडित आइसोलेशन तयार भएको र १५ श्ययाको आइसोलेशन वार्डको लागि महुन्याल बहुमुखी क्याम्पसमा काम भइरहेको बताएका छन्।

‘हामी नगरवासीको स्वास्थ्यमा धेरै संवेदनशील छौ। चाहिने आवश्यक साधनस्रोतको व्यवस्थापनको कामलाई समेत अगाडि बढाइसकेका  छौँ,' उनले भने, ‘अक्सिजन सिलिन्डरको आपूर्तिका लागि प्रक्रिया अगाडि बढाईसकेका छौं । क्यारेन्टिन निर्माण गरेका छौं।’ 

भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले ८ वडा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ भने ८ सिलिन्डर भराउनको लागि पठाइएको उनले जानकारी दिए। नगरपालिकामा कार्यपालिकाको बैठक बस्न नसक्दा भने कोरोना  नियन्त्रण तथा व्यवस्थापनका लागि बजेट विनियोजन हुन सकेको छैन।

टीकापुर नगरपालिकाले टीकापुर अस्पतालमा १५ श्ययाको अक्सिजन जडित आइसोलेशनलाई सञ्चालनमा ल्याएको छ भने सीटी हलमा ३८ श्ययाको व्यवस्थित आसोलेशन वार्डको रुपमा बिस्तारको काम अगाडि बढाएको छ। नगरपालिकामा रहेका सार्बजनिक भवन योगाश्रम, संन्तनिरंकारी भवन, जेसिज भवनलाई तयारी अवस्थामा राखेको  नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए।

नगरपालिकाले रु ५० लाखको कोरोना लक्षित कोषसमेत बनाएको छ। नगर प्रमुख रावलका अनुसार पूँजिगत आयोजना चालू आर्थिक बर्षमा सम्पन्न गर्न नसकिनेलाई कटौती गरी उक्त बजेट कोरोना कोषमा जम्मा गरिने छ । 

जानकी गाउँपालुकाले पनि कोरोनाको उपचार तथा अन्य वयवस्थापनलाई अगाडि बढाएको छ । गाउँपालिकाले यसअघि सञ्चालनमा ल्याएको ३० श्ययाका आइसोलेशन वार्डलाई अक्सिजन जडित बनाउन लागेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार  चौधरीले जानकारी दिएका छन्।

’लक्षण सहितका बिरामीलाई गाउँपालिकाले बनाएको आइसोलेशनमा राख्छौ। जटिल खालका बिरामीलाई टीकापुर अस्पतालमा उपचारका लागि समन्वय भएको छ,’  उनले भने ।

यस्तै, लम्कीचुहा नगरपालिकाले ५० श्ययाको आइसोलेशन वार्ड तयार गर्नुको साथै चिकित्सकलाई समेत जिम्मेवार बाँडफाड गरि काम बढाएकाे छ।

जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काम अगाडि बढाएका छन्। कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारको समन्वय फितलो रहेको स्थानीय तहका प्रमुखहरुको गुनासो गरेका छन्। संघीय सरकारले नीति निर्देशन दिने गरेको भएपनि प्रदेश सरकारको काम र समन्वयमा ढिलाइ भएको बताइएको छ। 
 

प्रकाशित मिति: १५:०१ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्