नेपालगञ्जमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु
नेपालगञ्ज, वैशाख १७ ः भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। बिहीबार अस्पतालको...
नेपालगञ्ज, वैशाख १७ ः भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।
कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन्। तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ। सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन्।
सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ। अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको ह । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन्।
बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो।











