Kathmandu Press

निषेधाज्ञा मात्र समाधान होइन, स्वास्थ्य मापदण्ड पालना गर्नुको छैन विकल्प

कोरोनाको ‘यूके भेरिएन्ट’ तीव्र रूपमा फैलिने क्रम बढ्दो छ। पहिले एउटा परिवारमा एक व्यक्तिलाई लागेको एक सातापछि परिवारको अर्को सदस्यलाई देखिन्थ्यो भने अहिले एकजनालाई लाग्‍नेबित्तिकै परिवारका सबै सदस्यलाई देखिन थालेको छ।
निषेधाज्ञा मात्र समाधान होइन, स्वास्थ्य मापदण्ड पालना गर्नुको छैन विकल्प

सरकारले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने भन्‍नासाथ काठमाडौंलगायत ठूला सहरमा बसिरहेका मानिस आ-आफ्नो गृहजिल्ला फर्कन थालेका छन्। विगतजस्तो मानिसलाई सकस नहोस् भनेर दुई दिनको समय दिएर निषेधाज्ञा जारी गर्ने सरकारको मुख्य उद्देश्य हो।

तर, यसले उपत्यकामा रहेका विभिन्‍न जिल्लाका मानिस आफ्नो गाउँमा फर्कँदा सावधानी नअपनाएको खण्डमा देशका कुना-कुनामा संक्रमण फैलिने जोखिम बढेको छ। रोजगारीका लागि मात्र उपत्यकामा बसिरहेका नागरिकलाई गाउँ फर्किन सहज होस् भनेर दुई दिन समय दिएर निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय मेरो विचारमा ठीक हो।

तर, त्यसरी लामो यात्रा गर्दा बाटोमा उनीहरूलाई कोरोना संक्रमण हुने जोखिम अत्यधिक छ। त्यसैले यात्रुले विशेष ध्यान पुर्‍याउनु जरुरी छ। यात्रामा सावधानी अपनाउँदा मात्रै गाउँघरसम्म कोरोना प्रसार हुने जोखिम कम हुन्छ।

Hardik ivf

म आफैँ पनि केही दिनअघि उपत्यकाबाहिर गएको थिएँ। हवाई जहाजमा सबै स्वास्थ्य मापदण्ड पनि राम्ररी पालना गरेको थिएँ। पानीसम्म पिएको थिइनँ। तर, गन्तव्यमा पुग्दा त्यहाँका मानिसले न मास्क, न त भौतिक दूरी, केही पालना भएको पाइनँ।

उपत्यकामा बसिरहेका अन्य जिल्लाका बासिन्दालाई सरकारले गाउँघर जान नदिएको भए पनि समस्या आउँथ्यो। उनीहरू काठमाडौंमा भोकभोकै पर्ने अवस्थासमेत आउन सक्थ्यो। अहिले लामो दूरीका सवारी साधनमा यात्रुको चाप बढी छ। उनीहरू मध्ये एकजना मात्र संक्रमित हुँदा पनि सबैलाई भाइरस सर्ने जोखिम हुन्छ। त्यसैले यात्रुहरूले एकदमै सावधानी अपनाउन जरुरी छ।

पहिलेदेखि नै सबैले मास्क लगाएर जनस्वास्थ्यका मापदण्ड पालना गरेको भए यो अवस्था आउने थिएन। तर, मानिसहरूले त्यस्तो गरेको पाइएको थिएन। कतिपयले कोरोनाविरुद्धको खोप लगाइसकेपछि अझ बढी लापरवाही गरिरहेको पाइन्छ। खोप लगाउनेबित्तिकै सुरक्षित भइसकेको अनुभूति गर्दै उनीहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरिरहेका छैनन्। त्यस्तो अवस्थामा उनीहरूले कोरोना संक्रमण फैलाउने अझ बढी खतरा रहन्छ।

किनभने खोप लगाइसकेका व्यक्तिमा पुनः संक्रमण भएका धेरै केस छन्। साथै, भाइरसका नयाँ भेरिएन्ट पनि देखिइरहेका छन्। खोपले ती भेरियन्टका लागि काम नगर्न पनि सक्छ। खोप लगाइसकेपछि कोरोना संक्रमण भएर आफूलाई सामान्य रुघाखोकी मात्र देखिए पनि अरूलाई सरेको खण्डमा उनीहरूलाई बढी प्रभाव पार्न सक्छ। त्यसैले खोप लगाउँदैमा पूर्ण सुरक्षित भइँदैन भन्‍ने सबैमा ज्ञान हुनुपर्छ।

सरकारले गत वर्ष पनि संक्रमण रोकथामका लागि लकडाउन गरेको थियो। तर, केही समयपछि त्यसको प्रभावकारिता देखिएन। त्यसैले लकडाउन समस्याको पूर्ण समाधान होइन। यसले केवल कोरोना सर्ने गतिलाई मात्र कम गर्ने हो।

अहिले अस्पतालहरूमा कोभिड-१९ का बिरामी थपिँदै छन्। निषेधाज्ञा जारी भएपछि यसले केही हदसम्म अस्पतालमा मानिसको चाप नियन्त्रण, स्वास्थ्य संस्थाहरूको व्यवस्थापन र मृत्युदर कम गराउने सरकारी नीति छ। तर, यसले कोरोना प्रसार पूर्ण रूपमा नियन्त्रणमा ल्याउँछ भन्‍ने होइन।

कोभिड-१९ रोकथामका लागि सरकारले विगतमा गरेका काम प्रभावकारी देखिएनन्। मानिसलाई जनस्वास्थ्य मापदण्ड पालना गराउने विषयमा पनि कडाइ गर्नुपर्ने देखिन्छ। साथै, आवश्यक स्वास्थ्य जनशक्ति तयार गर्ने, अस्पताल र बेड, अक्सिजन र भेन्टिलेटरको व्यवस्थापनलगायत तयारीमा लाग्‍नुपर्छ।

गत वर्ष लकडाउन अन्त्यसँगै दशैँ, तिहारलगायत चाडपर्व सुरु भइसकेका थिए। त्यसैले लकडाउन गर्दागर्दै पनि कोरोना संक्रमितको संख्यामा वृद्धि भयो। कोरोना नियन्त्रणमा सरकार चुकेको पनि त्यहीँ हो। तर, केही समयपछि कोरोना संक्रमण धेरै हदसम्म कम भयो। नेपालमा मात्रै नभई भारतमा पनि त्यो समयमा संक्रमितको संख्या निकै कम भइसकेको थियो।

यसपालि ‘यूके भेरिएन्ट’ भनिने कोरोनाको नयाँ प्रजाति आएको छ। यो नयाँ भेरिएन्ट तीव्र रूपमा फैलिने क्रम बढ्दो छ। यो प्रजाति एकअर्कामा छिट्टै सर्छ। पहिले एउटा परिवारमा एक व्यक्तिलाई लागेको एक सातापछि परिवारको अर्को सदस्यलाई देखिन्थ्यो भने अहिले एकजनालाई लाग्‍नेबित्तिकै परिवारका सबै सदस्यलाई देखिन थालेको छ।

यस्तै, पहिले बालबालिका र युवामा कोरोना संक्रमण कम हुन्थ्यो भने अहिले धेरै देखिएको छ। त्यसकारण पनि अहिले सक्रिय रहेको भाइरस पुरानो नभई नयाँ प्रजातिको प्रकोप हुनेसक्ने सम्भावना छ।

नेपाल र भारतमा संक्रमितको संख्या कम हुनेबित्तिकै मानिसले कोरोनालाई हराइसकेको सोच्‍न थाले र सावधानी अपनाउनमा हेलचेक्र्याइँ गरे। त्यसैको परिणाम अहिले कोरोनाको भिन्‍नै प्रकोपले मानिसलाई महामारीको चपेटामा पारेको छ। यदि कोरोना संक्रमितको संख्या कम भइसक्दा पनि मानिसले जनस्वास्थ्यका मापदण्डको पालना गर्थे भने यो अवस्था सायद आउने थिएन।

अहिले पनि अवस्था धेरै बिग्रिएको छैन। भारतको जस्तो स्थिति आउन नदिन अहिले नै सरकारले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने र नागरिकले पालना गर्ने। यति गर्न सके भारतको जस्तो अवस्था नआउन सक्छ।

(संक्रामक रोग विज्ञ प्रा. डा. कोइरालासँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्