९० सालको भूकम्प : राजाका सिपाहीले एक–एक मोहर चाँदीका सिक्का बाँडे
त्यो दिन १० वर्षीया राधाका लागि सबैभदा भयानक दिन थियो । वरपर थुप्रै घर भत्किएका थिए, कति मानिस पुरिएका थिए, कति घाइते थिए, एउटा रुवाबासीको क्षण थियो ।काठमाडौं, वैशाख १२ : शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशी ९० सालको भूकम्पका बेला १० वर्षकी थिइन् । यस हिसाबले अहिले उनी ९८ वर्षकी भइन् । उनलाई आफ्नो जन्म साल सम्झना छैन, जन्मतिथि भने याद छ– ज्यापुन्हि (जेष्ठ शुक्ल पूर्णिमा)को अघिल्लो दिन।
ज्यापुन्हि अर्थात् छुस्या–मुस्या (गहुँ, मकै, भटमास आदि) भुटेर खाने दिन । यस दिनलाई नेवारहरूले वर्षभरिकै सबैभन्दा लामो दिनको रूपमा लिन्छन् । कतै सुनिएको त छैन, यस दिन वरपर जन्मने मान्छेले लामो आयु बाँच्छ । तर, राधादेवी जोशीलाई हेर्दा यस्तै लाग्छ। दीर्घायु यदि प्रारब्ध, नियति वा भाग्य हो भने राधादेवी त्यस्ती भाग्यमानी हुन्, उनले आफ्ना पति (संस्कृतिविद् सत्यमोहन जोशी)सँग चारपटक ज्याः जंक्व (बूढाबूढी पास्नी) गरेकी छन्।
व्यक्तिको उमेर ७७ वर्ष ७ महिना, ७ दिन, ७ घडी, ७ पला पुगेपछि पहिलो भीमरथारोहण गरिन्छ । यसैलाई जंक्व भनिन्छ । दीर्घायुको यो एउटा उत्सव हो । दोस्रोपटकको जंक्व व्यक्तिको उमेर ८८ वर्ष, ८ महिना, ८ दिन पुगेपछि गरिन्छ, यसलाई देवरथारोहण भनिन्छ । तेस्रोपटकको जंक्व व्यक्तिको उमेर ९९ वर्ष, ९ महिना ९ दिन पुगेपछि गरिन्छ, यसलाई महारथारोहण भनिन्छ । श्रीमानको पहिलो रथारोहणमा श्रीमतीको उमेर जति भए पनि श्रीमानसँगै भीमरथारोहण गराइन्छ । राधादेवीको जेठी छोरीको पनि जंक्व भइसकेको छ।
विवाह हुँदा राधादेवी १४ की र सत्यमोहन १७ का थिए । उनीहरूको विवाह वर्षगाँठ नै ८४ वर्ष हुन लाग्यो । अहिलेसम्म आफूहरूबीच झगडा नपरेको राधादेवी बताउँछिन् । उनी भन्छिन्, ‘झगडा गर्नुपर्ने कुनै कारण परेन । कहिलेकाहीँ तनावमा हुँदा उहाँको झर्किने स्वभाव छ । तर म चुपचाप बस्छु।’
अहिले सानो दुर्घटनाले गर्दा राधादेवी सहज ढंगले हिँड्डुल गर्न सक्दिनन् । घरमा केही काम गर्नुपर्दा आफूलाई श्रीमान्ले सघाउने उनी बताउँछिन्।
उनले भनिन्, ‘उहाँ बेलाबेला चिया खाने हो भनेर सोध्नुहुन्छ । खान्छु भन्दा बनाइदिनुहुन्छ।’
राधाको विवाहको कथा पुरानो चलचित्र वा उपन्यासको कथाजस्तै लाग्छ । उनकी आमा मोतीलक्ष्मी र सत्यमोहनकी आमा राजकुमारी (नुगलदेवी) बीच गहिरो मित्रता थियो । मोतीलक्ष्मी र नुगलदेवी हरेक बिहान कृष्ण मन्दिर जान्थे । नुगलदेवीले मोतीलक्ष्मीलाई सधैँ भन्ने गर्थिन्, ‘तिम्री छोरी र मेरो छोराको विवाह गर्नुपर्छ ।’ मोतीलक्ष्मीले छोरीको उमेर नपुगेको भन्दै टार्दै आएकी थिइन्।
राधादेवीको उमेर १४ वर्ष पुग्यो भन्ने सुनेपछि नुगलदेवीले जिद्धी गरिन् र एकदिन मोतीलक्ष्मीको घर गइन्, राधादेवीलाई हेर्न । त्यतिबेला पनि राधादेवी साथीहरूसँग खेल्न गएकी थिइन् । बहिनीले ‘आमाले बोलाएर ल्याएको छ’ भनेपछि उनी घर आइन्।
राधादेवी भन्छिन्, ‘घरमा नयाँ मान्छे देख्नेबित्तिकै लाजले भुतुक्कै भएँ । मलाई थाहा भइहाल्यो, पक्कै बिहेका लागि मलाई माग्न आएको हुनुपर्छ भनेर।’
९० सालको भूकम्प
जन्मको कुरा गर्दा ९० सालको भूकम्पलाई सम्झने, जन्मदिनको कुरा गर्दा पर्व ज्यापुन्हि सम्झने– राधाको बाल्यकाल कस्तो हुँदो हो!
उनको माइतीघर पाटनको कृष्ण मन्दिरपछाडि मंगल गल्ली (ममरु गल्ली) मा छ । बुवा व्यापारी र आमा गृहिणी भएकाले उनले बाल्यकाल अरुको तुलनामा खासै दुःख गर्नुपरेन । राणाकालमा छोरी पढाउने चलन थिएन । त्यसैले उनी घरनजिकै साथीहरूसँग कानकान पिच (लुकामारी) खेलेर दिन बिताउँथिन्।
१९९० साल माघ २ गते दिउँसो, उनी लुकामारी खेल्ने सिलसिलामा तीनतले माटोको घरको सबैभन्दा माथिल्लो तलामा लुकेकी थिइन्, त्यही बेला भूकम्प आयो । घर हल्लन थालेपछि उनी डराएर बुवालाई पुकार्दै ओर्लिइन् र बाँच्न सफल भइन्, यता उनको घर ढल्यो । भाग्दा लडेर टाउकोमा चोट लाग्यो । उनी दाग देखाउँदै भन्छिन्, ‘यी यहाँ दाग छ नि!’
त्यो दिन १० वर्षीया राधाका लागि सबैभदा भयानक दिन थियो । वरपर थुप्रै घर भत्किएका थिए, कति मानिस पुरिएका थिए, कति घाइते थिए, एउटा रुवाबासीको क्षण थियो।
भूकम्पपछि टोलका मान्छेहरू खाली चौरहरूमा पाल टाँगेर बस्न थाले । उनको परिवार पनि चौरमा बस्न पुग्यो । परिवारका पाका मानिस घर भत्केकामा दुःखी भए पनि केटाकेटी मन पुनः रमाउन थालिसकेको थियो, यस्तै त रहेछ भनेजसरी । उनको परिवार ६ महिनासम्म चौरमा बस्यो, यो अवधि उनले साथीहरूसँग खेलेरै बिताइन्।
‘भूकम्प आएको तीन महिनापछि राजाका सिपाही आए,’ उनी सम्झिन्छिन्, ‘घर भत्किएकाहरूलाई प्रतिपरिवार तीन सय रूपैयाँ बाँडेका थिए । कसैलाई बोराको थैलीमा त कसैलाई कपडाको थैलीमा एक–एक मोहर चाँदीका सिक्का राखेर।’