संक्रमित बढे : आइसियु बेड र अक्सिजनको तयारी के छ ?
‘अहिले टेकु अस्पतालमा करिब ५५ जना कोरोनाका बिरामीमध्ये ४५ जनालाई आवश्यकता अनुसार अक्सिजन प्रदान गरिरहेका छौँ। २३ जना आइसियूमा छन्।अघिल्लो वर्षभन्दा अहिले सिकिस्त बिरामी बढी आउन थालेका छन्। बिरामीले आइसियू बेड नै पाए पनि बाँच्ने सम्भावना कम हुँदै गएको छ।काठमाडौं, वैशाख १० : छिमेकी मुलुक भारतमा अहिले कोरोना संक्रमितको संख्या अत्यधिक बढेर अक्सिजनको अभाव हुन थालेको भारतीय सञ्चार माध्यम बिबिसीले जनाएको छ। सामाजिक सञ्जालहरूमा पनि बेड नपाएका बिरामी अक्सिजन सिलिन्डर बोकेर बाटोमै अलपत्र बसेका तस्बिर भाइरल भइरहेका छन्।
यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको देखिन्छ। देशभरका विभिन्न सहरमा अक्सिजन र आइसियु बेडको अभावमा बिरामीलाई घर फर्काउन थालिएको छ।नेपालगन्ज लगायत धेरै जनघनत्व भएका सहरमा तीव्र रूपमा कोरोना संक्रमण बढिरहँदा संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बिरामीले बेड पाएपनि बाँच्ने सम्भावना कम हुन थालेको बताउँछन्।
‘अहिले टेकु अस्पतालमा करिब ५५जना कोरोनाका बिरामीमध्ये ४५ जनालाई आवश्यकता अनुसार अक्सिजन प्रदान गरिरहेका छौँ। २३ जना आइसियूमा छन्,’ उनले काठमाडौं प्रेसलाई भने, ‘अघिल्लो वर्षभन्दा अहिले सिकिस्त बिरामी बढी आउन थालेका छन्।’
यस्तोसमयमा अक्सिजनकै अभाव खड्कियो वा भारतबाट अक्सिजन आउन छाड्यो भने अवस्था झनै जटिल हुने उनले बताए। अहिलेकै अवस्थामा टेकुमा बिरामी बढे भने पनि अरु अस्पतालमा सिफारिस गर्नुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा अहिले बेडको अभाव हुन थालिसकेको छ।तर, अहिलेसम्म अक्सिजनको अभाव नभएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। ‘हाम्रो अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भएको छैन। कोरोना बिरामीभने थपिँदै छन्,’ उनले भने।
यस्तै त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पनि कोरोना संक्रमितको संख्या बढिरहेको अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा. दिनेश काफ्ले बताउँछन्।
अहिले टिचिङ अस्पतालमा कुल सात सय १५बिरामीमध्ये लगभग ६० जना कोरोनाका बिरामी रहेको उनले बताए। सामान्य बिरामीलाई तीन लिटरसम्म दिएपुग्नेमा कोरोनाको बिरामीलाई अवस्था अनुसार प्रतिव्यक्ति प्रतिमिनेट ६० लिटरसम्म अक्सिजन दिनुपर्ने उनले बताए। काफ्ले भन्छन्, ‘हामीसँग तीनवटा अक्सिजन प्लान्ट छन्।
सामान्य अवस्थामा अक्सिजन पर्याप्त नै थियो। तर, अहिले कोभिडको समयमा जेनतेन चलिरहेको छ,’ उनले भने, ‘हामीले आफैँ अक्सिजन उत्पादन गर्ने हो। तर कोभिड हामीले सोचेकोभन्दा फरक ढंगमा देखिएको छ। त्यसैले अभाव हुनसक्ने सम्भावना बढी छ।’सम्भाव्य समस्यालाई मध्येनजर गर्दै अस्पतालले नयाँ प्लान्ट जडानका लागि सरकार समक्ष आग्रह गर्ने तयारीमा रहेको उनले बताए।
‘अक्सिजनमा भारतसँगनिर्भर छैनौँ’
कोरोना संक्रमितको संख्या व्यापक रूपमा बढेसँगै भारतमासिर्जना भएको अक्सिजनको अभावले नेपाली जनतामा पनि त्रास उत्पन्न भएको छ। तर आवश्यक अक्सिजन देशमै पर्याप्त उत्पादन गर्ने क्षमता हामीसँग भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘भारतमा अक्सिजनको कमी हुँदाहुँदै हामीलाई दिने कुरा आउँदैन। हामी अक्सिजनका लागि भारतमा मात्रै निर्भर छैनौँ। विगतमा पनि हामीलाई आवश्यक अक्सिजन धेरै मात्रामा नेपालमै उत्पादन गथ्र्यौं,’ उनले काठमाडौं प्रेससँग भने, ‘नेपालमा कोरोना संक्रमण बढिरहेको हुँदा थप अक्सिजन कसरी उत्पादन गर्ने भन्ने कार्यमा लागिरहेका छौँ।’
अहिले देशभर लगभग ७५ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन्, जसको दैनिक सात हजार सिलिन्डरसम्म अक्सिजनकोउत्पादन क्षमता रहेको डा. अधिकारी बताउँछन्। यस्तै, अस्पतालहरूमा अक्सिजन सिलिन्डरहरू स्टोर गर्न निर्देशन दिइएको उनले बताए।
साथै, उत्पादन क्षमता बढाउने, अस्पतालहरूमा रहेको अक्सिजन प्लान्टहरूको मर्मतसहित थप प्लान्ट बनाउने, उत्पादित अक्सिजन निर्यात नगर्ने व्यवस्था गर्ने लगायत तयारीहरूमा मन्त्रालय लागिरहेको डा. अधिकारीले जानकारी दिए।