ऊर्जा क्षेत्रमा थप लगानी गर्न जाइकालाई ऊर्जा मन्त्री पुनको आग्रह
काठमाडाैं, जेठ २८ : सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथ....

काठमाडाैं, जेठ २८ : सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाको दक्षिण एशियाका लागि महानिर्देशक हारा सोहेइलाई ऊर्जा क्षेत्रमा थप लगानी गर्न आग्रह गरेका हुन्।
जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको सन्दर्भमा थप लगानीका लागि सरकारले आग्रह गरेको हो। कूल १४० मेगावाट क्षमताको तनहुँ सेतीमा जाइकाको लगानी रहेको छ।
मंगलबार भएको भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा जाइकाले पुर्याएको सहयोगको सराहना गर्दै थप लगानीका लागि आग्रह गरे। सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भ जोड्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गरे।
भेटवार्तामा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव सागर गौतमका अनुसार नेपाल र जापानबीचको सम्बन्ध पुरानो रहेको सन्दर्भ जोड्दै विभिन्न आयोजनामा गरेको सहयोगको अपेक्षा व्यक्त गरेका थिए।
नेपालले पछिल्ला दिनमा चीन, भारत, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा सहकार्यका लागि द्विपक्षीय संयन्त्र स्थापना भइसकेको सन्दर्भमा जापानसँग पनि त्यस्तो संयन्त्र स्थापनाका लागि आफूहरुले समेत पहल गरिरहेको उनले बताएका थिए।
नेपालको ऊर्जा क्षेत्रमा जापानका निजी क्षेत्रलाई लगानीका लागि जाइकाले अभिप्रेरित गर्न सक्नेतर्फ समेत मन्त्री पुनले जाइकाका प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए। जाइकाले कास्कीलगायतका क्षेत्रमा प्रशारण तथा वितरण प्रणालीको सुधारका लागिसमेत काम गर्न लागेको सन्दर्भमा त्यसलाई अगाडि बढाउन अनुरोध उनले गरेका थिए।
नेपालको ऊर्जाको क्षेत्रीय व्यापारमा भइरहेको प्रगति तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिबारे समेत छलफल भएको थियो।










