Kathmandu Press

पानीका मुहान सुक्न थालेपछि म्याग्दीका गाउँलेलाई समस्या

गलेश्वर, चैत ३१ : म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ ।...
पानीका मुहान सुक्न थालेपछि म्याग्दीका गाउँलेलाई समस्या

गलेश्वर, चैत ३१ : म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ । तर आजभोली त्यो कुवा सुख्खा छ। घट्दैघट्दै अहिले त एक थोपा पानी छैन।

जलवायु परिवर्तन, वनजङ्गल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ। कतिपय खोला त मुहान सुकेर सुख्खा बनेका छन्। पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढदै गएको छ। खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ। वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कदै गएको हो । 

वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुख्खा मैसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय बासिन्दा काकाकूल बन्ने अवस्था रहेको सापकोटाको भनाइ छ। ‘वर्षा पनि भएको छैन, पानीको मुहानको अभावले समस्या जटिल बन्दैछ,’ उनले भने। तोराखेतमा मात्रै होइन बेनपा– ६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत म्याग्दीमा दर्जनौं गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको समस्या झेल्दै आएका छन्। पानीका मुहान सुक्न थालेपछि स्थानीयवासी पानीका लागि घण्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन्।

अधिकांश बस्तीमा कुवाँ र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीयवासी खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन्। जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले स्थानीयवासी समस्यामा परेका हुन्। केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा पनि अप्राकृतिक समस्या देखिन थालेका वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन्। खासगरी २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली  क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकार नारायण शर्माले बताए।

त्यसैगरी गत वर्षको बाढीपहिरो र खडेरीले पनि मूल सुक्दै गएपछि यहाँ पानीको समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘मूलहरु पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्’, उनले भने, ‘जनसङख्या र कृषि कर्म गर्नेको सङ्ख्या बढ्दै जाने तर पानीका स्रोत सुक्दै जाने हुन थालेपछि पानीको समस्या उत्पन्न भएको हो ।’

कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौं पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । आधुनिक प्रविधिको प्रयोग गरी पानीको वैकल्पिक व्यवस्था गर्न नसक्ने हो भने अवको केही वर्षपछि खानेपानीको हाहाकार उत्पन्न हुने उनीहरुको भनाइ छ । ’खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ’, प्राविधिकहरुले भने, ‘वनजङ्गल विनास र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ ।’ डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका उनीहरुको भनाइ छ। 

विकासको नाममा स्थानीय तहले डोजर आतङ्क मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्। मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदूरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन। जहाँ पानीका मूल र वन क्षेत्र छ, त्यही सडक लगेका छन्। यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल सम्भावना रहेको स्थानीयवसाीको भनाइ छ। 

जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन्। भएका योजना पनि मर्मत संभार र मुहान सुक्दा बन्द भएका छन्।  अधिकांश विद्यालयमा समेत पानी छैन। डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुँदा बालबालिका घरबाटै बोकेर पानी लैजानु पर्ने बाध्यता रहेको छ।

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्