चैत २७ मा नेपाली चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ प्रदर्शनमा आउने
काठमाडौं, चैत २१ : यही चैत २७ मा नेपाली चलचित्र ‘लप्पन छप्पन-२’, ‘मनसँग मन’ तथा ‘कृष्ण लीला’ तीनवटा प्रदर्शन गर्ने कुरा थियो। तर...
काठमाडौं, चैत २१ : यही चैत २७ मा नेपाली चलचित्र ‘लप्पन छप्पन-२’, ‘मनसँग मन’ तथा ‘कृष्ण लीला’ तीनवटा प्रदर्शन गर्ने कुरा थियो। तर कोरोना कहरका कारण हलमा पुगेर चलचित्र हेर्न नपाएका दर्शकले अवस्था अलिकति सुध्रिएर चलचित्र प्रदर्शन हुन थाल्दा पनि हलसम्म पुग्ने रुचि खासै देखाएका छैनन्।
दर्शकको उक्त मनोविज्ञानलाई बुझेका निर्माताले हिम्मत जुटाउन नसकेपछि ती तीन चलचित्र निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। तर सोही मितिमा अन्य दुई चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ भने प्रदर्शनमा आउने भएका छन्।
एभरेस्ट सूर्य बोहोराको चलचित्र ‘श्री’ टिमले ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो। सो चलचित्रकी निर्मात्री सविता गुरुङ रहेकी छन्।
‘श्री’ मा सन्दीप छेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठलगायत कलाकारको सशक्त अभिनय देख्न पाइन्छ।
चलचित्रको निर्देशन बोहोरा स्वयंले गरेका हुन्। चलचित्रको कथा पनि उनैले लेखेका हुन भने गीतमा प्युक्त शब्द पनि उनकै हुन्।
स्क्रिन प्लेमा भने बोहोरालाई शिवम अधिकारीको साथ छ भने छायांकन शेर बहादुर तामाङले गरेका हुन् । चलचित्रमा राखिएका गीतमा टेकेन्द्र नेपालीको संगीत र सुजन बडालको सम्पादन रहेको छ।
अर्को चलचित्र ‘गुड फ्रेन्ड’ मा साथीसाथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथा समेटिएको छ । यो चलचित्र चैत २० मै हलमा आउने भनिएको थियो तर चैत २७ मा भने दर्शकमाझ आउने पक्का भएको हो।
यो चलचित्र राजबहादुर सानेको निर्देशनमा बनेको हो । यो चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपकविक्रम शाही, एलबी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटालगायत कलाकारले आफ्नो अभिनय कौशलता देखाएका छन्।
बिजी बर्मा फिल्म्सको ब्यानरमा वसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा अनि सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन्। यस चलचित्रका गीतमा सञ्जय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रबल प्रधानको छ ।
यो चलचित्र केही वर्षअघि नै बनेको भए पनि प्रदर्शनका लागि उचित समय पर्खँदा यहाँसम्म आइपुगेको निर्माण पक्षले जनाएको छ।












