‘फूलबुट्टे सारी’ले गराएकाे मदनकृष्ण र बियोन्सबीचकाे त्याे आत्मीय भेट
काठमाडौं, चैत १९ : ‘फूलबुट्टे सारी’ गीतले नेपाली सांगतिक जगत्मा अत्यधिक चर्चा कमायो। एकपछि अर्को गर्दै आएका सबैखाले भर्जनलाई दर्शकश्रोताले उत्तिकै रुचाउनु र...
काठमाडौं, चैत १९ : ‘फूलबुट्टे सारी’ गीतले नेपाली सांगतिक जगत्मा अत्यधिक चर्चा कमायो। एकपछि अर्को गर्दै आएका सबैखाले भर्जनलाई दर्शकश्रोताले उत्तिकै रुचाउनु र माया गर्नु त्यसको प्रमाण हो।
वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठले पनि केही समयअघि ‘लिजेन्डरी भर्जन’ मा सो गीत गाए । मदनकृष्णको परिपक्व स्वर पाउँदा सो गीतले सफलताको थप उचाइ हासिल गर्यो।
मदनकृष्णको गायकीबाट युगान्डकी गायिका दे क्वाप्टेन बियोन्स फमासी प्रभावित भइन्। उनलाई पनि सो गीतमा स्वर दिने इच्छा जाग्यो । नभन्दै उनको इच्छा पूरा पनि भयो। यतिखेर उनले स्वर दिएको ‘फूलबुट्टे सारी’ नेपालीभाषीमाझ ‘भाइरल’ भएको छ नै, त्यसले नेपाली गीतसंगीतको अन्तर्राष्ट्रियकरणमा पनि विशेष मद्दत पुर्याएको छ।
बियोन्सको ‘फूलबुट्टे सारी’ सुनेपछि मदनकृष्ण श्रेष्ठ पनि प्रभावित भए। ‘ओहो ! कस्तो राम्रो गीत गाएको ! भेटेर धन्यवाद दिन पाए पनि हुन्थ्यो नि !’ उनको गीत सुन्नेबित्तिकै आफ्नो मनमा उत्पन्न प्रतिक्रिया यही रहेको गायक मदनकृष्णले बताए।
बियोन्सको गीत मन परेपछि मदनकृष्णले फेसबुकमार्फत उनीसँग कुराकानी गरेका थिए। तर पछि बियोन्सले फोनै गरेर मदनकृष्णलाई भेट्ने इच्छा प्रकट गरिन्। मदनकृष्णले पनि नाइँ भन्ने कुरै भएन। फलस्वरुप बुधबार उनीहरूबीच भेटघाट भएको छ।
भेटमा बियोन्सले मदकृष्णलाई सम्मान गर्दै आफ्नो देशको राष्ट्रिय गीत गाएर सुनाएकी थिइन्। उनी सो दिन युगान्डको राष्ट्रिय झन्डा अंकित कपडामा सजिएकी थिइन्। मदनकृष्णलाई भेट्दा उनी निकै भावुक भइन्।
बियोन्सले आफूलाई बुवाजस्तै लागेको भन्दै आत्मीयता प्रकट गरेको मदनकृष्णले बताए। मदनले पनि उनको गाएकीको खुलेर प्रशंसा गरेका थिए। आफूले गाउँदा उक्त गीतले ५२ लाख भ्युज पाइसकेको र बियोन्सको गीतले पनि दर्शकश्रोताको मन जितिरहेको उनले बताए।
बियोन्सको स्वरमा गुन्जिएसँगै ‘फुलबुट्टे सारी’ गीत अन्तर्राष्ट्रियकरण भएको र जसबाट नेपाली सांगीतको बजारलाई अझ फराकिलो बनाउन मद्दत पुग्ने गायक मदनकृष्णको भनाइ छ। बियोन्ससँग भेटले संगीतको शक्ति र महत्व अझ राम्ररी उजागर भएकाे महसुस भएकाे उनले बताए।
गायक मदनकृष्णका अनुसार नेपाल घुम्न आएकी बियोन्स लकडाउनका कारण आफ्नो देश फर्कन पाएकी रहिनछन्। भिसा प्रक्रिया नमिल्दा उनी अझै नेपालमै छिन्। नेपाल साह्रै रमाइलो लागेको र खुसीसाथ यहाँ बसिरहेको प्रतिक्रिया उनले दिएकी छन्।












