‘तिमीलाई देख्दा मात्र’ बोलको गीतमा नयन र निशाको दमदार अभिनय (भिडियो)
काठमाडौं, चैत्र ६ : गायक कृष्ण काफ्ले र गायिका मेलिना राईको स्वरमा रिलिज ‘तिमीलाई देख्दा मात्र’ बोलको गीतमा मोडल नयन डिसी र निशा...
काठमाडौं, चैत्र ६ : गायक कृष्ण काफ्ले र गायिका मेलिना राईको स्वरमा रिलिज ‘तिमीलाई देख्दा मात्र’ बोलको गीतमा मोडल नयन डिसी र निशा लामाले दमदार अभिनय गरेका छन् ।
गीतकार प्रदिप सुवेदीको शब्दमा सार्बजनिक उक्त गीतमा डिसी र लामाको अभिनय लोभलाग्दो रहेको छ । गीतले माया गर्ने मायालु जोडीको प्रेम सम्बन्धलाई रोमान्टिक तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।
पछिल्लो समय युवा पुस्तामाझ परिचित मोडल डिसीले यसअघि ‘फुर्के धागो’, ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगाएतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन् । एरोविक्स डान्सका गुरु समेत रहेका डिसीले विगत १० बर्षदेखि अभिनय सिकाउँदै समेत आएका छन् ।

सिन्धुली आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको भिडियोलाई अमृत सुनारले निर्देशन गरेका हुन् भने पुरूषोत्तम न्यौपानेले संगीत दिएका हुन् । बिशेषतः रोमान्टिक गीतको सिर्जना गर्न रुचाउने सुवेदीले यसपटक पनि मार्मिक शब्दमा रोमान्टिक गीत सार्बजनिक गरेका हुन् ।
यस्तै, चर्चित गायक काफ्लेले यसअघि ‘सुन न चम्पा’, ‘पर्ख पर्ख मायालु’, ‘मैले बोलको छैन ढाँटेर’ लगाएत दर्जनौ चर्चित गीतबाट लोकप्रियता कमाईसकेका छन् भने गायिका राईका ‘पल भर मै खुसी’, ‘तिम्ले बाटो फेरेउ अरे’, ‘कुटुमा कुटु’ र पिरिम नलाउनी लगायतका थुप्रै चर्चित गीत बजारमा छन् ।
एरिना इन्टरटेण्डमेन्टले बजारमा ल्याएको गीतको म्युजिक भिडियोलाई बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बिमोचन गरिएको हो । कार्यक्रममा उपस्थित गीतकार डी.बी. दाहाल लगायतका सहभागीहरुले बिशेषत युवा पुस्ताका मनहरुको विश्वास यो गीतले जित्ने विश्वास लिदैं गीतको सफलताको शुभकामना व्यक्त गरेका थिए ।












