मेलम्चीका नाममा रिचार्ज कार्डदेखि तरकारीसम्म उधारो
काठमाडौं, जेठ १९ : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम डेढ महिनाभित्र अघि बढ्ने भएको छ।
आयोजना विकास समितिले इटालियन ठेकेदार कम्....
काठमाडौं, जेठ १९ : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम डेढ महिनाभित्र अघि बढ्ने भएको छ।
आयोजना विकास समितिले इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का तोडिएपछि बाँकी कामका लागि बोलपत्र आह्वान गरेसँगै मेलम्चीको बाँकी काम केही समयमै अघि बढ्ने भएको हो।
‘हामी फाष्ट ट्रयाकबाट अघि बढ्दैछौं। डेढ महिनाभित्रमा फिल्डमा काम सुरु हुन्छ’ आयोजना प्रमुख सुर्यराज कँडेलले काठमाडौंप्रेससँग भने,‘एडिबीले पनि एउटा टिम स्ट्याण्ड बाइ राखेको छ।’
मजदुरको पारिश्रमिक भुक्तानीको तयारी
सिएएमसीसँग काम गरेका मजदुरहरुले पाउन बाँकी रकम भुक्तानी गरेर काममा लगाउने तयारी समेत आयोजनाले थालेको छ। आयोजना प्रमुख कँडेलका अनुसार मजदुरहरुको रकमबारे आयोजना समितिमै सैद्धान्तिक सहमति भइसकेकाले बाँकी प्रक्रिया अघि बढेको बताए।
उनले भने, ‘कानूनी रुपमा यो रकम सिएमसीले नै तिर्नुपर्ने भए पनि श्रम गरेर साँझ बिहान चलाउने मजदुरहरुको रकम अड्किनुहुन्न भन्ने मान्यताका साथ यो प्रक्रिया अघि बढेको छ। नोभेम्बरदेखि डिसेम्बर १५ सम्मको तलब भुक्तानीको प्रक्रिया अघि बढाइसकेका छौं।’
आयोजनाले मजदुरको रकम दिने प्रक्रियागत निर्णयका लागि एक साताको समय पर्खिरहेको कर्मचारी प्रमुख मानव संसाधन विभाग व्यवस्थापक देवीरमण अधिकारीले बताए। उनका अनुसार मजदुरहरले सिएमसीसँग ८ करोड ७४ लाख रकम भुक्तानी लिन बाँकी छ।
एशियाली विकास बैंकको आर्थिक सहयोगमा बनिरहेको मेलम्ची आयोजनाको भुक्तानी विवाद भएपछि गत डिसेम्बरमा ठेकेदार कम्पनीले एकतर्फी ठेक्का तोडेको थियो। ठेकेदार कम्पनीलाई फकाउने नफर्काउने भन्ने विषयमा विवाद कायमै रहेपछि आयोजनाले अन्तिमा बाँकी काम स्थानीय ठेकेदारमार्फत काम गराउने गरी बोलपत्र आह्वान गरेको हो।
अहिलेको संक्रमणलाई पार लगाउनका लागि सरकारले चालेको यो कदम उपयुक्त भएको आयोजना विज्ञ किशोर थापा बताउँछन्। उनले काठमाडौंप्रेससँग भने,‘यो सकारात्मक विषय हो। अलि अगाडि नै गर्नुपथ्र्यो। सरकारले गर्नुपर्ने नै यहीँ थियो।’
इटालियन ठेकेदार कम्पनीको ठेक्का भए पनि अधिकांश काम नेपाली ठेकेदारले नै गरिरहेको हुँदा अब तिनै उपकरणहरु प्रयोग गरेर प्रक्रिया काम अगाडि बढाउन समस्या नहुने उनको भनाइ छ।
सिएमसीसँग स्थानीय ठेकेदार कम्पनी तथा सप्लायर्सहरुले लिनुपर्ने भुक्तानीबारेको विवाद भने यथावत नै छ। सिएमसी फर्केदेखि नै स्थानीय ठेकेदारहरुले आफ्नो भुक्तानी दिलाइदिन सरकारसँग माग गरिरहेका छन्। तर, सरकारले सिएमसीसँगको सम्झौतामा आफूले कुनै पनि काम गर्न नमिल्ने बताउँदै आएको छ। सप्लायर्सहरुले भने भुक्तानी नगरे काम नै गर्न नदिने चेतावनी दिएका छन्।
सिएमसीको नाममा रिचार्ज कार्डदेखि तरकारीसम्म उधारो
स्थानीयका अनुसार सिएमसीले रिचार्ज कार्डदेखि तरकारीसम्मको रकमसमेत भुक्तानी गर्न बाँकी छ।
सिएमसीले नेपालमा रहँदा उधारो किनेको तरकारी र रिचार्ज कार्डको रकम समेत नतिरी जाँदा साना व्यापारीहरु समस्यामा परेको आयोजना पिडित संघर्ष समितिका सचिव तथा स्थानीय राजकुमार भट्टराई बताउँछन्। उनका अनुसार सिएमसीले रिचार्ज कार्डवापतको २ लाख र तरकारीको करिब २० हजार रुपैयाँ तिर्न बाँकी छ।
आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त भन्छन्, ‘मेरो यति छ मेरो यति छ भनेर आउँदा हामीले कसरी पत्याउने? आएको फाइललाई प्रमाणसहित आऊ भनेको छौं। प्रमाण नै भएपनि सिएमसीले तिर्नु पर्ने रकम सबै सरकारले तिर्न सक्दैन।’