अब नारायणहिटी संग्रहालयमा सिनेमा पनि हेर्न पाइने
काठमाडौं, चैत्र १ : नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल पुनः सञ्चालनमा आउने भएको छ।२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डपछि बन्द रहेको उक्त सिनेमा हल...
काठमाडौं, चैत्र १ : नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल पुनः सञ्चालनमा आउने भएको छ।
२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डपछि बन्द रहेको उक्त सिनेमा हल बैशाखदेखि सञ्चालन गर्न लागिएको हो। हलमा अहिले सरसफाइ र रंगरोगनको कार्य भइरहेको नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिले जनाएको छ।
यस्तै सिनेमा सञ्चालनपछि सर्वसाधारणले पनि यहाँ डकुमेन्ट्री हेर्न पाउने व्यवस्था गरिएको छ। समितिका अनुसार २०२६ सालमा दरबारभित्रको यो सिनेमा हल तत्कालीन राजपरिवारका सदस्यका लागि बनाइएको थियो। उक्त हलमा राजपरिवारसँग सम्बन्धित भिडियो पनि देखाइनेछ।
यसको क्षमता सयजनाभन्दा बढी अट्ने रहेको छ। तत्कालीन राजा सहभागी रहेका देशविदेशका महत्वपूर्ण कार्यक्रम (इभेन्ट) का भिडियोहरूको रिल पनि सुरक्षित रहेकाले तिनलाई सर्वसाधारणले हेर्न पाउने व्यवस्था गरिएको छ।
दरबारभित्र रहेको यो हलमा बजारमा चल्ने फिल्म हेर्न भने पाइनेछैन। यस्तै दरबार संग्रहालय घुम्न लिइएको टिकटबाट नै फिल्म र डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको समितिले जनाएको छ।












