Kathmandu Press

हलो जोत्ने जनप्रतिनिधि गंगुदेवी भन्छिन् – म मर्द हुँ !

काठमाडौं, जेठ १९ : नेपालको सुदूरपश्चिमजस्तो पित्तृसत्तात्मक समाजमा राजनीति गर्नु एउटी गरीब, अशिक्षित र एकल महिलालाई कति गाह्रो होला?

बझाङको ....

हलो जोत्ने जनप्रतिनिधि गंगुदेवी भन्छिन् – म मर्द हुँ !
इन्द्रसरा खड्का

काठमाडौं, जेठ १९ : नेपालको सुदूरपश्चिमजस्तो पित्तृसत्तात्मक समाजमा राजनीति गर्नु एउटी गरीब, अशिक्षित र एकल महिलालाई कति गाह्रो होला?

बझाङको थलारा गाउँपालिकाकी उपाध्यक्ष गंगुदेवी खडायत भन्छिन्, ‘धेरै गाह्रो नि !’

उनी थप्छिन्, ‘राजनीति गर्ने पुरुषहरू प्रायः रातिसम्म मिटिङ गर्छन्। मिटिङमै चूरोट–रक्सी खान्छन्। हामी महिलाहरू त्यसरी चूरोट–रक्सी खाँदै रातिसम्म मिटिङ गर्न सक्दैनौँ। पुरुषसँग दिउँसो मिटिङ बस्दा त हामी महिलालाई कतिले वेश्या भएको आरोप लगाउँछन्।’

यति ठूला चुनौतीका पहाड चिर्दै गंगुदेवी आफ्नो गाउँको राजनीतिमा सफल भएकी छिन्। उनी वडाध्यक्ष भइन्। गाउँपालिका उपाध्यक्ष पनि भइन्। अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश कमिटी सदस्य पनि भएकी छिन्। 

सरकारले यस वर्षदेखि मनाउन सुरु गरेको राष्ट्रिय महिला अधिकार दिवसको कार्यक्रममा भाग लिन यसै साता राजधानी आएकी गंगुदेवीलाई काठमाडौं प्रेसले सोधेको थियो – एउटी महिला भइकन पनि तपाईं बझाङजस्तो पित्तृसत्तात्मक समाजमा कसरी राजनीतिमा सफल हुनुभयो? 

‘आफूलाई मर्द सम्झिएपछि, मर्द झैं काम गरेपछि मर्दहरूसँग लड्न–भिड्न गाह्रो नहुने रहेछ।’

उनको सटिक जवाफ थियो – ‘म अनुहारले मात्रै महिला हुँ, आत्माले मर्द हुँ।’ 

उनले थपिन्, ‘आफूलाई मर्द सम्झिएपछि, मर्द झैं काम गरेपछि मर्दहरूसँग लड्न–भिड्न गाह्रो नहुने रहेछ।’  

हुन त गंगुदेवीले आफ्नो भनाइलाई व्यवहारमै चरितार्थ गरिसकेकी छिन्। उनी पूरै बझाङ जिल्लाभरि हल्लो जोत्ने पहिलो महिलाको रुपमा चिनिन्छिन्।

गंगुदेवी भारतको बैङ्लोरमा जन्मिएकी थिइन्। २०४१ सालमा बिहे गरेर बझाङको थलारा गाउँ पुगिन्। एक छोरा र एक छोरी जन्मिएपछि उनका श्रीमान् कमाउन भनी भारत भासिए। फर्किएनन्। 

गाउँमा उनी जेठानी–देउरानीसँग बस्थिन्। जेठानी–देउरानीका श्रीमान् थिए, गंगुदेवीको थिएन। उनीहरू सधैं ‘हाम्रा श्रीमानले कमाएको खान्छौँ’ भनी गंगुदेवीलाई अपमानित गरिरहन्थे।

२०५९ सालमा एक दिन गंगुदेवीले आफ्नो खेतमा आफैं हलो जोत्ने निधो गरिन्। उनी भन्छिन्, ‘कति दिन अरुलाई गुहार्ने? बिन्तीभाउ गर्ने? म दिक्क भइसकेको थिएँ। यसैले, मैले आफैं हलो जोत्न सुरू गरेँ।’

‘पुरुषसँग हिँड्यो कि वेश्या भन्ने, पातर भन्ने चलन छ। तर, आफ्नो लक्ष्यमा अडिग भइयो भने हामी पनि राजनीति गर्न सक्छौँ।’ 

गंगुदेवीले हलो जोतेको देखेर गाउँलेले जिब्रो टोके। पण्डितहरूले भने – अब गाउँमा अनिष्ट हुन्छ, भोकमरी चल्छ। धान, गहुँ केही उम्रिदैन।

तर, हेर्दाहेर्दै उनको खेतमा धान पनि फल्यो, गहुँ पनि फल्यो। भोकमरी चलेन। अनिष्ट भएन। 

कतिले गंगुदेवीलाई भनेका थिए – लोग्ने मान्छेले मात्रै गर्नुपर्ने काम तिमीले महिला भएर गर्‍यौँ, अब तिम्रो मुखमा दाह्री–जुँगा पलाउँछ! 

उनी हाँस्दै भन्छिन्, ‘आफैं हेर्नुहोस् न, मेरो मुखमा दाह्री–जुँगा छ त?’ 

गंगुदेवीले पढ्न पाएकी थिइनन्। प्रौढ शिक्षा लिएपछि उनको हिम्मत बढ्यो। २०६७ सालमा उनले एसएलसी पनि पास गरिन्, आफ्ना छोरा–छोरीले भन्दा धेरैपछि। 

उनको राजनीतिक यात्रा भने एमालेका तत्कालीन महासचिव मदन भण्डारी बझाङ पुगेको बेला भएको थियो। उनी सङ्गठन विस्तार गर्न बझाङ पुगेका थिए। उनकी श्रीमती तथा हाल नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पनि सँगै थिइन्। 

पार्टी सदस्यता लिन त्यो बेला पाँच रुपैयाँ चाहिन्थ्यो। उनीसँग पाँच रुपैयाँ पनि थिएन। तर, राजनीतिमा लाग्छु भन्ने उत्कट चाहना थियो। उनले एक माना अन्न बेचेर पाँच रुपैयाँ जुटाइन् र एमालेको सदस्यता लिइन्। 

पार्टी सदस्यता लिएपछि स्थानीय चुनावमा भाग लिइन्। जितिन् पनि। तर, गाउँका अन्य महिलालाई राजनीति गर्नु अझै पनि गाह्रो रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पुरुषसँग हिँड्यो कि वेश्या भन्ने, पातर भन्ने चलन छ। तर, आफ्नो लक्ष्यमा अडिग भइयो भने हामी पनि राजनीति गर्न सक्छौँ।’ 


 


 

प्रकाशित मिति: १०:१३ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्