Kathmandu Press

प्रभाकर राणा अर्थात् स्वच्छ व्यवसायका पर्याय

सोल्टी, सिप्रदी र सूर्य नेपालका मालिक प्रभाकर राणा कर छल्नु हुँदैन भन्ने मान्यताका प्रवर्तकमात्र होइनन्, पर्याय पनि थिए।

काठमाडौं,....

प्रभाकर राणा अर्थात् स्वच्छ व्यवसायका पर्याय
Hardik ivfHardik ivf

सोल्टी, सिप्रदी र सूर्य नेपालका मालिक प्रभाकर राणा कर छल्नु हुँदैन भन्ने मान्यताका प्रवर्तकमात्र होइनन्, पर्याय पनि थिए।

काठमाडौं, जेठ १७ : अधिराजकुमार हिमालय विक्रम शाहले सन् १९६७ मा काठमाडौंको ताहचलमा सोल्टी होटल स्थापना गरे।

राजा त्रिभुवनका छोरा र राजा महेन्द्रका भाइ हिमालय शमशेरमा पर्यटनसम्बन्धी ज्ञान त थियो, तर पाँच तारे होटल चलाउने अनुभव थिएन। उनलाई होटल चलाउन हम्मे हम्मे पर्‍यो।

उनलाई सोल्टी होटल घाँडो भइरहेको थियो। त्यस बेला उनका साला प्रभाकर शमशेर राणा व्यवसायिक साझेदारको रुपमा सोल्टी होटल प्रवेश गरे। राणाकी दिदी प्रिन्सेपको विवाह हिमालय विक्रम शाहसँग भएको थियो।

राणाले विश्व-प्रसिद्ध चेन होटल ओबेरायलाई सोल्टीको व्यवस्थापन हेर्ने गरी नेपाल भित्र्याए। राणाको नेतृत्वमा सोल्टी छिट्टै नेपालको नम्बर एक पाँच तारे होटलको रुपमा विकास भयो। लामाे समयसम्म सोल्टी नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट होटलमध्ये एक रह्यो।

सोल्टीपछि पनि नेपालमा थुप्रै पाँच तारे होटलहरू आए, तर सोल्टीको साख ५२ वर्षपछि पनि अझै उस्तै छ। सोल्टीले नेपालगञ्जमा समेत पाँचतारे होटल सुरू गरेको छ।

सोल्टीलाई सोल्टी बनाउने प्रभाकर राणाले सूर्य नेपाल र सिप्रदी नामक कम्पनीसमेत खोलेर हजाराैं नेपालीलाई रोजगारी दिए। उद्योग खोल्ने, रोजगारी सिर्जना गर्ने र पैसा कमाउने नेपाली त अरु पनि धेरै छन्, तर राणाले भने जहिल्यै कानून र नैतिकताको घेराभित्रै रही व्यवसाय गरे। उनी स्वच्छ व्यवसायका प्रवर्तक मात्र नभई उदाहरण समेत थिए।

प्रभाकर राणाको व्यवसायिक घराना अहिले स्वच्छ व्यवसायको पर्याय बनेको छ। उनका एक्ला छोरा सिद्धार्थ शमशेर राणा चार वर्षदेखि लगातार उत्कृष्ट करदाताको रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएका छन्।

सोल्टी होटलबाट व्यवसायिक यात्रा थालेका राणालाई नेपालमा टाटाका गाडी भित्र्याउने जस पनि जान्छ। झण्डै ३७ वर्षअघि उनैले स्थापना गरेको सिप्रदी ट्रेडिङले अहिले पनि भारतबाट टाटाका गाडीहरू आयात गरी नेपाली बजारमा बेचिरहेको छ।

हाल सिप्रदीले वार्षिक करिब ३५ अर्ब रुपैयाँको व्यापार गर्दै आएको छ। सिप्रदीको व्यवसाय हेर्ने सिद्धार्थ समशेर राणाले पछिल्लो चार वर्षमा लगातार सबैभन्दा धेरै आयकर नेपाल सरकारलाई बुझाएका छन्।

प्रभाकर राणाकै पहलमा पाँच वर्षअघि सिप्रदीले नेपालमा टाटाको प्लान्ट जडान गर्ने र नेपालमै गाडी उत्पादन सुरू गर्ने घोषणा गरेको थियो। तर, नेपालको राजनैतिक अस्थिरताका कारण टाटा आफ्नो योजनाबाट पछि हट्यो। र, नेपालमै गाडी उत्पादन गर्ने राणाको सपना अधूरै रह्याे।

राणाले सन् १९८६ मा सूर्य नेपाल कम्पनी पनि स्थापना गरेका थिए। अहिले सूर्य नेपालले नेपाल सरकारलाई वार्षिक १२ अर्ब रुपैयाँ कर बुझाउँदै आएको छ। गत वर्ष सबैभन्दा बढी आयकर बुझाउने कम्पनीको रुपमा सूर्य नेपाल सम्मानित भएको थियो।

नेपालमा पहिले विदेशी निजी कम्पनीको लगानी भित्र्याउने पनि राणा नै हुन्। उनले सन् १९९७ मा ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजनामा प्रतिष्ठित अमेरिकन कम्पनी पान्डाको ९८ मिलियन डलर लगानी ल्याएका थिए।

कमाएको पैसा नेपालमै लगानी गर्नुपर्छ र व्यवसाय स्वच्छ हुनुपर्छ भन्ने मान्यता राणाको रहेको उनको नजिक रहेर वर्षौ काम गरेका सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहाल बताउँछन्।

‘व्यवसायीहरू कर तिर्दैनन्, कर छल्छन् भन्ने आम मान्यता छ। यो मान्यताविपरीत उहाँले स्वच्छ व्यवसायको परिपाटी बसाउनु भएको थियो,’ दाहालले भने। राणाले व्यवसाय गरेर नाफा मात्रै कमाएनन्, राज्यलाई पारदर्शी रुपमा कर बुझाएर स्वच्छ व्यवसायको नमूना समेत प्रस्तुत गरे।

नेपालमा विदेशी प्रविधि भित्र्याउने र हस्तान्तरण गराउनेमा राणा नै नेपालको पहिलो व्यक्ति भएको दाबी दाहालको छ। राणाले सूर्य नेपालमा पनि व्यवस्थापनको लागि आइटिसी कम्पनी भित्र्याएका थिए।

राणा परिवारले अहिले काठमाडौंको रवि भवनमा पाँचतारे लक्जरी होटेल सञ्चालनमा ल्याउँदैछ। ठूलो लगानीमा बनाउन लागिएको यो होटेलमा ८० कोठा हुनेछन्। यस्तै, बर्दियामा ६० बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालनको तयारी भइरहेको छ।

नेपालमा अर्बौंको व्यवसाय गरेर हजाराैंलाई रोजगारी दिने र नेपाललाई वार्षिक अर्बौं कर तिर्ने व्यवसायी प्रभाकर राणको गए राति अमेरिकामा निधन भयो। ढाड र नशासम्बन्धी रोगबाट पीडित राणा ८४ वर्षका थिए।

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, जेठ १७, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्