ठूला जनावरको संख्या घट्दै
मानिसले वन्यजीवनको नाश गरिरहेको छ। प्रकृति नाश भइरहेको छ। जनावरको शरीरको औसत आकार पनि एक चौथाइले घट्दै गएको अध्ययनले अनुमान गरेको छ।
आउने शताब्दीसम्म एक हजार....
मानिसले वन्यजीवनको नाश गरिरहेको छ। प्रकृति नाश भइरहेको छ। जनावरको शरीरको औसत आकार पनि एक चौथाइले घट्दै गएको अध्ययनले अनुमान गरेको छ।
आउने शताब्दीसम्म एक हजारभन्दा धेरै स्तनधारी र चराका ठूला प्रजाति लोप हुने अनुसन्धाताले अनुमान गरेका छन्। यसमा गैँडादेखि चिलसम्म पर्दछन्। यसले खाना र सफा पानीका लागि मानिस निर्भर हुने पर्यावरण नाश हुने उनीहरू बताउँछन्।
गएको एक लाख २५ हजार वर्षमा अफ्रिकाबाहेक मानिसको बसोबास भएको सबै महादेशबाट अधिकांश ठूला प्रजाति मानिसले मासेको छ। आउने वर्षहरूमा यो संहारले अझ तीव्र रूप लिने अनुसन्धानले देखाएको छ।
वन्यजीवनको सुरक्षा र बासस्थान पुन:स्थापनामा आमूल परिवर्तन ल्याए भविष्यमा पशुपंक्षी लोप हुने सम्भावना कम गर्न सकिन्छ। नयाँ कार्यले प्रजाति विशेषमा ध्यान दिन पनि सहयोग गर्ने वैज्ञानिकहरू बताउँछन्।
सन् १९७० यता पशुको संख्या ६० प्रतिशतले घटेको छ। जंगल क्षेत्रको फडानी, शिकार र अत्यधिक खेतीपातीले पृथ्वीमा छैठौं पटक जीवनको सामूहिक विनाश हुने संकेत दिएको छ। मानव समाज पृथ्वीको प्राकृतिक–जीवन–सहयोग प्रणाली नाश हुने खतरामा भएको वैज्ञानिकहरूले यो महिना बताएको छ। अहिले आधाभन्दा धेरै प्राकृतिक पर्यावरणको विनाश भएको छ। जम्मा दश लाख प्रजाति लोप हुने जोखिममा छन्।
‘ठूला प्रजातिको पूर्ण भूमिका थाहा नपाइ हराउनु चिन्तानको विषय हो,’ युनिभर्सिटी अफ साउथह्याम्प्टनका रोबर्ट कुकले भने। उनले नै नयाँ अनुसन्धानको नेतृत्व गरेका हुन्। ‘उनीहरू नभए, परिस्थिति एकदमै छिटो बिग्रिनेछ। पर्यावरणको विनाश सुरू हुनसक्छ। हामी बाँच्न नसक्ने स्थिति आउन सक्छ,’लन्डनस्थित जेडएसएल इन्स्टिट्युट अफ जुलोजीका क्रिस कार्बाेन भन्छन्।
अनुसन्धानले पछिल्ला हिमयुगमा रेकर्ड गरिएभन्दा उच्च दरमा पशुपक्षीको लोप हुने अनुमान गरेको छ। तीमध्ये ठूला प्रजाति सबैभन्दा जोखिममा छन्। कतिपय ठूलो जनावरको परिस्थिति अनुसन्धाताले सुझाएभन्दा गम्भीर पनि हुनसक्छ। विशेष पशुपक्षीको चोरीशिकार र वन्यजीवनको गैरकानूनी कारोबारले उनीहरूको संख्या अझ घटाउँदै गएको छ।
स्तनधारी र चराका १५ हजार पाँच सय प्रजातिको विश्लेषण गरिएको अध्ययनको प्रतिवेदन नेचर कम्युनिकेसन्स नामक जर्नलमा प्रकाशित छ। यसमा ‘बडी मास’, बासस्थानको चौडाइ, आहार र पुस्ताबीच समयको सीमा आदि समावेश गरिएको छ। यसलाई अनुसन्धाताले लोप हुने सम्भावनाको अनुमान गर्ने,इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुुसिएन) को रातो सूचीमा समावेश जोखिममा रहेका प्रजातिसँग मिसाए।
नतिजाले गैंडा, बाघ र चिलजस्ता ठूलो प्रजातिभन्दा मूसा र गीत गाउने साना, अत्यधिक प्रजनन क्षमता भएका र अनुकूलन क्षमता भएका जनावरको बाँच्ने सम्भावना भएको देखाएको छ। ‘यदि यी सबै ठूला प्रजातिका जनावर लोप भए, हामीले आधारभूत रूपमै यो ग्रहको जीवन पुनर्संरचना गरिरहेका हुन्छौं,’ कुकले भने।
गएको एक लाख २५ हजार वर्षमा वन्य जन्तुको औसत आकार १४ प्रतिशतले घटेको सन् २०१८ को अनुसन्धानले देखायो। ‘म्यामथ’ र ‘जायन्ट स्लोथ’ लगायत भिमकाय प्रजातिलाई मानिसले नै लोप बनाएको हो। अबको सय वर्षमा मात्रै यसमा २५ प्रतिशत घट्ने नयाँ अध्ययनले पूर्वानुमान गरेको छ।
ठूला जनावर विशेष जोखिममा छन्। मानिसले ठूला जनावरलाई नै बारम्बार लक्ष्य बनाउँदै आएको छ। बाँच्नका लागि यिनीहरूलाई एकदमै धेरै जंगल आवश्यक हुन्छ। यिनीहरू लोप भए ठूलो प्रभाव पर्नेछ किनभने स्थिर र उत्पादनशील पर्यावरण सिर्जना गर्न उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ। उदाहरणका लागि हात्तीले ठूला वनस्पतीको दाना वितरण गर्छ भने ठूला जनावरको सिनो सड्नु र रोग फैलाउनुअघि गिद्धले सिनो व्यवस्थापन गर्दछ।
गीत गाउने चराहरू साना हुन्छन्। वनस्पति खाने र शिकारी चराको तुलनामा उनीहरूलाई थोरै बासस्थान भए पुग्छ। यद्यपि, अधिकांश चराहरू किराफट्याङ्ग्रा खान्छन्। उनीहरूको शिकार वा आहार घटेकाले यो समूहका थप जनावर लोप हुने खतरामा रहेको वैज्ञानिकहरूले बताएका छन्।
क्यानडास्थित मेमोरियल युनिभर्सिटीकी अमान्डा बेट्सले भनिन्,‘लोप हुने प्रजाति भनेर प्रक्षेपण गरिएसम्म, संरक्षण कार्यका लागि समय छ। हाम्रो जस्तो अनुसन्धानले त्यसको मार्ग दर्शन गर्नेछ भन्ने हाम्रो आशा हो।’
विश्व वन्यजन्तु कोषका चिफ एड्भाइजर फर वाइल्डलाइफका पल डे ओर्नेलियासले भने,‘यो अध्ययन हामीले प्रकृतिमाथि पारेको प्रभावको चेतावनीको चिन्ताजनक संकेत हो।’ प्रकृति पुन:स्थापना हुनसक्ने उनले बताए। ‘प्रकृति र मानिसका लागि आकस्मिक र बृहत नयाँ सम्झौतामा सहमत हुन हामीलाई विश्वका नेतृत्व चाहिएको छ,’उनले भने।