उपत्यकाका जात्रापर्वसँग जोडिएको पौभा
पहिले पौभाका लागि कुमारी केटीले बुनेको कपडा चाहिन्छ भनिन्थ्यो, अहिले त्यो चलन हटिसकेको छ । त्यस्तै, पहिले पौभा चित्र कोर्नुअघि पूजा गर्ने चलन थियो । अहिले पौभालाई व्यावसायिक बनाइएकाले पूजा गर्ने चलन पनि हटेको छ।काठमाडौं, फागुन २ : ललितपुर, पाटनढोकानजिकै सेतो रङको साढे दुईतले घरमा सानो बोर्ड राखिएको छ– सिम्रिक अटेलियर, नेपाल्स् ट्रेडिसनल पेन्टिङ।
यस घरको पहिलो तलामा लोक चित्रकारले २२ वर्षदेखि पौभा स्टुडियो चलाउँदै आएका छन् । लोक चित्रकार पौभा कलाकार हुन्, पौभा नेपाली लोककलामा पर्छ, जस्तो नाम, काम पनि उस्तै।
गत साताउनको स्टुडियोमा केही युवा कपडामा चित्र कोर्ने त कोही कोरिएका चित्रमा रङ लगाउन व्यस्त थिए।
तयार चित्र के कस्तो भयो भनेर नियालिरहेका लोकले भने, ‘कोभिडपछि चित्रले अलिअलि बजार पाउन थालेको छ।’ उनका अनुसार, नेपाली विभिन्न चित्रकलामध्ये एक प्रमुख हो, पौभा ।यसलाई नेपाली कला बुझाउने एक विधाको रुपमा पनि लिने गरिन्छ।
धेरैलाई लाग्छ, थान्का चित्रकला र पौभा चित्रकला एउटै हो। तर पौभा र थान्कामा केही भिन्नता रहेको लोक बताउँछन् । उनी भन्छन्, ‘पौभालाई कतिपय मानिसले नेवारी थान्का पनि भन्ने गर्छन्। नेपाली कलालाई पनि हामीले विदेशीको माध्यमबाट चिनाउनु ठूलो विडम्बना हो । हामीसँग स्रोत खोजेर विदेशीले पस्किदिन्छन् । त्यही आधारमा हामी काम चलाइरहेका छौँ। हामी आफ्नै कलाहरूको बारेमा अध्ययन गर्न पछि परेका छौँ।’
पौभा चित्र बनाउन लोकले अहिलेसम्म कुनैपनि औपचारिक तालिम लिएका छैनन्। उनको यो जन्मजात प्रतिभा हो ।ललितपुरका स्थानीयवासी उनको पुख्र्यौली पेसा नै चित्र कोर्ने हो। तर यसबाट गुजारा चल्न मुस्किल भएकाले उनका बुबाले यस कामलाई निरन्तरता दिएनन्, अरु नै पेसा अपनाए । लोकले भने सानैदेखि अरुले कोरेका चित्र हेर्न, मन्दिरमा भएका चित्रलाई नियाल्नमा रुचि देखाए। यसरी उनले जात्रा वा कुनै संस्कार गर्न आवश्यक चित्र आफैँ कोर्न थाले।
काठमाडौं खाल्डोमा विभिन्न संस्कृति हुर्केका र मौलाएका छन् । संस्कृतिविद् ओम धौभडेलका अनुसार, पहिलेदेखि नै यहाँ कुनै पनि जात्रा वा चाडपर्वमा सोसँग सम्बन्धित देवीदेवताको चित्रलाई कपडामा कोरेर प्रदर्शन गर्ने चलन थियो । जुन अहिलेसम्म चलिरहेको छ । गाईजात्रा, भक्तपुरको तलेजुजात्रा आदि यसका उदाहरण हुन्। अहिले पनि भक्तपुरको तलेजु मन्दिरको जात्रामा मन्दिरभित्र रहेका पौभा प्रदर्शन गर्ने गरिन्छ । यस्तै जनैपूर्णिमाको दिनमा विभिन्न विहारहरूमा कपडामा कोरिएका चित्र प्रदर्शन गरिन्छ।
यसरी सानैदेखि लोक पनि आफ्नो संस्कृतिसँग जोडिँदै आएका थिए । उनले अरुका चित्र हेर्ने र आफूले पनि त्यस्तै चित्र बनाउने अभ्यास गर्न थाले । आफू गरिब परिवारमा जन्मेकालेकलाकार हुन पुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘गरिबीका कारण म आर्टिस्ट बन्न पाएँ । धनी परिवारमा जन्मेर हुर्केको भए, पढाइलेखाइ धेरै हुनसक्थ्यो र अन्य पेसामा वा रोजगारीमा लाग्थेँ होला ।’
तर, आज उनको पौभा चित्रमा दिल बसेको छ । उनी यसलाई छाड्न सक्दैनन् । उनको जीवनको लय नै पौभा बनेको छ।
अहिले पौभा चित्रको बजार राम्रै छ। सानो छँदा लोकले एउटा चित्रलाई २० देखि ८० रुपैयाँमा बेच्थे । ‘अहिले यस्ता चित्र देश–विदेशमा जाने भएकाले आर्थिक रूपमा राम्रो छ,’ उनी भन्छन्, ‘कलाकारको मेहनत अनुसार भने अझै पारिश्रमिक पाउन सकिएको छैन।’
के हो पौभा?
कुनै पनि हिन्दु, वैष्णव र बौद्ध धर्मसँग सम्बन्धित देवीदेवताको चित्रलाई कपडामा बनाउनुलाई पौभा भनिन्छ। यो नेवारी शब्द हो। नेवारी शब्द ‘पौ’ र ‘ब्वयगु’बाट ‘पौभा’ शब्द बनेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनका अनुसार, नेवारी भाषामा ‘पौ’ भनेको एक प्रकारको चिठीजस्तै हो भने ‘ब्वयगु’ भनेको प्रदर्शन गर्नु हो।
यसरी प्रदर्शन गरिने चिठीलाई ‘पौ ब्वयगु’ भनिएबाट पछि ‘पौभा’ भन्न थालिएको उनको भनाइ छ । कागजको विकास हुनुअघि मानिसले चिठीलेख्न कपडाको प्रयोग गर्ने भएका कारण पनि पौभालाई यही ढंगमा लिएको हुनसक्ने उनले बताए । उनी भन्छन् ‘थान्का भनेको विशेषगरी बौद्ध धर्मसँग सम्बन्धित छ । पौभाअन्तर्गतभने हिन्दु, शैव, वैष्णव लगायत धर्मसँग सम्बन्धित देवीवदेवताको चित्र कपडामा बनाइन्छ।’
पौभामा लेखिएका चित्र अत्यन्तै सुन्दर हुने, सुरक्षित हुने, त्यसमा प्रयोग गरिएका रङ निकै आकर्षित र टिकाउ हुने कारण पौभालाई अन्यभन्दा विशेष मानिएको छ । पौभाको छेउ–छेउमा बाँसको ढुंग्रो बनाएर सुरक्षित राख्न सकिन्छ।
‘शैव धर्मसँग सम्बन्धित पौभालाई शिव मन्दिरमा,तान्त्रिक चित्र हो भने सोसँग सम्बन्धित मन्दिरमा राखिन्छ,’धौभडेल भन्छन्।
भक्तपुरको बिस्का जात्रामा अष्ठमातृका देवीहरूको पौभा प्रदर्शन गर्ने चलन छ । कुनै मन्दिरमा मूर्ति हेर्न नमिल्ने हुन्छ। त्यस्तो अवस्थामापौभाचित्रहेरेर पनि कुन देवीदेवताको मन्दिर हो भन्ने थाहा हुन्छ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तक ‘प्रज्ञा संस्कृति कोश’मा भने ‘संस्कृत भाषामा पटचित्र भनिने विषयबहुल चित्रको अन्वितिमा बनाइने मिहिन चित्रकलालाई पौभा चित्र’ भनिएको छ। ‘यसैलाई थाङ्का पनि भनिन्छ । जाति विशेषको केही कुरा थपेर पौराणिक तथा सामयिक विषयलाई प्रतिविम्बित गर्ने पटचित्रलाई चित्रपट, पौभा, थाङ्का र टाङ्का पनि भनिन्छ,’ संस्कृति कोशमा उल्लेख छ, ‘यो चिनियाँ चित्रकलाको उपहारका रुपमा नेपाली संस्कृतिमा भित्रिएको मानिन्छ । विश्व बजारमा भने नेपाली पौभा चित्र नै प्रसिद्ध रहिआएको छ।’
पौभा कसरी बन्छ ?
पौभा चित्र बनाउँदा सुरुमा आफूले कुन विषयमा पौभा चित्र बनाउन लागेको हो, त्यस विषयमा अध्ययन गरी पूर्ण जानकारी लिनुपर्छ ।कुन शैलीमा बनाउने, कुन देवीदेवताको बनाउने, कतिवटा हात हुन्छ, कुन हातमा के समाएको हुन्छ आदिबारेकलाकारलाई सम्पूर्ण ज्ञान हुनु जरुरी छ।
पौभा कलाकार लोक चित्रकारका अनुसार, कुनै पनि देवीदेवताको चित्र कोर्नुअघि निकै अध्ययन गर्नुपर्ने हुँदा पहिलेत्यसबारे जानकारी भएका पुस्तक पाउन गाह्रो हुन्थ्यो । तर, अहिले आवश्यक किताबवा सम्बन्धित सामग्री पर्याप्त मात्रामा भेटिन्छन्।
यसरी जेको चित्र कोर्ने हो, त्यसको पौराणिकताबारे जानकारी लिइसकेपछि साधारण सुतीको कपडाको क्यानभास तयार गरिन्छ । त्यसक्यानभासलाई तन्काएर फ्रेममा कसिन्छ । त्यसमा सपेता र सरेस लगाइन्छर घाममा सुकाइन्छ।
सुकिसकेपछि त्यसलाई पुनः ढुंगाले घोटेर चिप्लो बनाएर लेख्न मिल्ने बनाइन्छ । झट्ट हेर्दा यो कागज जस्तो देखिन्छ । यसरी तयार क्यानभासमा पौभा चित्र कोरिन्छ।
पहिलेपौभाका लागि कुमारी केटीले बुनेको कपडा चाहिन्छ भनिन्थ्यो, अहिले त्यो चलन हटिसकेको छ । ‘पहिले यसरी तयार पारिएको कपडामा चित्र कोर्नुअघि पूजा गर्ने चलन थियो,’ लोक चित्रकार भन्छन्, ‘अहिले पौभालाई व्यावसायिक बनाइएकाले पूजा गर्ने चलन पनि हटेको छ।’
संस्कृतिविद् धौभडेलका अनुसार, पौभा चित्र बनाउँदा प्रकृतिमै पाइने रङहरूको प्रयोग गरिन्छ । जसकारण सैयौँ वर्ष पुरानो पौभा चित्रमा पनि रङ ताजा रहन्छ।