Kathmandu Press

डढेलोले हिमाली सल्लो र लालीगुराँसको रूख मासिदै

जम्मू–कश्मिर, हिमाचल प्रदेश र उत्तराखण्डमा फैलिएको पश्चिमी भारतीय हिमालय सल्ला, देवदार र कटुसको रूखका लागि प्रख्यात छ । यी रूखबिना हिमालय क्षेत्रको भाष्य परिकल्प....

डढेलोले हिमाली सल्लो र लालीगुराँसको रूख मासिदै

जम्मू–कश्मिर, हिमाचल प्रदेश र उत्तराखण्डमा फैलिएको पश्चिमी भारतीय हिमालय सल्ला, देवदार र कटुसको रूखका लागि प्रख्यात छ । यी रूखबिना हिमालय क्षेत्रको भाष्य परिकल्पना गर्नै मुश्किल छ । तर यो क्षेत्रमा बारम्बार लाग्ने डढेलो यी रूखका लागि खतरा बन्दै गएका छन्।

अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) नेपाल र इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी (आइआइटि) भारतका वैज्ञानिकहरूले हालै गरेको नयाँ अध्ययन अनुसार डढेलो लाग्ने क्रम नरोकिए पश्चिम हिमालयमा सल्ला, देवदार र गुराँसले भरिएको क्षेत्र नष्ट हुनेछ।

‘सन् २०३० सम्म देवदार र सन् २०८० सम्म सल्लाको रूख अत्यधिक घट्ने अनुमान गरिएको छ । हिमालयको अधिकांश उच्च क्षेत्रमा सन् २०५० सम्म गुराँसे वन अत्यधिक मासिनेछ,’ विश्वास एस. चितलेले बताए । उनी इसिमोड नेपालका रिमोट सेन्सिङ स्पेसियलिस्ट हुन्।

Hardik ivf

तर कटुसले भरिएको क्षेत्रमा भने कुनै परिवर्तन नहुने अनुसन्धाताले पत्ता लगाएका छन् । पश्चिम हिमालय क्षेत्रमा कटुसका रूख पनि प्रचुर मात्रामा पाइन्छ । डढेलोले कटुसका रूखलाई किन प्रभाव पार्दैन भनेर अनुसन्धाताहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन्।

डढेलो असामान्य होइन 

पश्चिम हिमालयमा डढेलो नौलो विषय होइन । सन् १९११ र १९२१ मा हिमालयको यो क्षेत्रमा ठूलो डढेलो लागेको थियो । त्यसपछि, प्रत्येक दशकमा एक पटक ठूलो आगलागी हुने गरेको छ । सन् २००२ देखि २०१६ बीचमा उत्तराखण्डमा विनाशकारी आगलागी भयो । सन् २०१७ मा आगलागीको प्रभाव केही कम भयो तर सन् २०१८ मा फेरि उत्तराखण्ड र हिमाचल प्रदेशमा डढेलो लाग्यो । सन् २०११ मा १३ हजार आठ सय ९८ पटक डढेलो लागेकोमा सन् २०१७ मा ३५ हजार आठ सय ८८ पटक आगो लागेको अभिलेखले देखाउँछ । एउटा कुरा भने स्पष्ट छ – हिमालय क्षेत्रमा बारम्बार लाग्ने डढेलो चिन्ताको विषय हो।

डढेलोले तत्कालका लागि वनस्पति र जीव नाश गर्दछ । बारम्बार हुने आगलागीले कुनै स्थानको पर्यावरणमा दीर्घकालीन परिवर्तन ल्याउँछ । चितले र उनका सहकर्मीले पूर्वानुमान गरेजस्तै डढेलोले ५–८ प्रतिशत सल्लाका रूख, ११–१३ प्रतिशत देवदार र १२–१६ प्रतिशत गुराँसका रूख नासिनेछ।

अन्य (असम्बन्धित) अध्ययनले पनि डढेलोले माटोको गुण परिवर्तन गर्नसक्ने देखाएको छ । विशेष गरी सल्लाको जंगलमा,‘स्थानीय बोटबिरूवाको वृद्धि प्रवद्र्धन गर्ने माटोको ब्याक्टेरिया नास हुने’ शुलिनी युनिभर्सिटी अफ बायोटेक्नोलोजी एन्ड म्यानेज्मेन्ट साइन्सेस, भारतस्थित सेन्टर फर रिसर्च अन हिमालयन सस्टेनेबिलिटी एन्ड डिभेलोप्मेन्टका आदेश साइनीले बताए।

यी विनाशकारी डढेलो किन लाग्छ ?
अधिकांश आगलागी मानिसकै कारण लाग्छ । सल्लाका पातमा पाइने ‘रेसिन’ले डढेलो व्यापक फैलिन्छ । जंगलका रूख मरेपछि त्यहाँ वस्तुभाउका लागि घाँस उम्रिने विश्वासमा स्थानीयले आगो लगाउने गरेको साइनीले बताए।

दुर्भाग्यवश, आगलागीपछि उम्रिने ‘पेन्निसेतुम’ जस्ता स्थानीय घाँसको स्थान ‘बाइडेन्स पाइलोसा’ अर्थात् तिखे कुरो, ‘लान्टाना कमारा’ अर्थात् बनमारा र ‘एरिजेरोन आन्नुन्स’ जस्ता आक्रामक प्रजातिले लिन थालेका छन् । तिखे कुरोलाई स्थानीय पटक्कै मनपराउँदैनन् । यसको फूलमा काँडा हुने भएकाले घाँसका लागि उपयुक्त हुँदैन।

यस्ता अवलोकनले अध्ययनको पूर्वानुमानलाई एक हदसम्म पुष्टि गर्दछ । चितले भन्छन्,‘डढेलोले खाली भएको स्थानमा सब–ट्रपिकल वनस्पति वा आक्रामक प्रजाति पलाउने सम्भावना छ । तर कुन प्रजाति भनेर पूर्वानुमान गर्न कठिन छ।

’अनुसन्धाताहरूले अर्काे पाटो पनि अवलोकन गरेका छन् । यी रूखको श्रृङ्खला ‘हिमालयको उत्तरी र उत्तर–पूर्वी क्षेत्रमा फैलिनेछ । त्यहाँको उच्च आर्द्रता यसको कारण हो । पूर्वी हिमालयको तुलनामा पश्चिममा एक चौथाइ मात्रै पानी पर्छ । यसले पश्चिम हिमालय बढी सुख्खा हुन्छ । त्यसैले पूर्वी हिमालयको दाँजोमा यहाँ डढेलो धेरै लाग्छ।’ वन डढेलो नियन्त्रण गर्न सके भिन्न परिणाम निस्कने नयाँ अध्ययनले देखाउँछ । डढेलो रोकथाम गर्ने सबैभन्दा उत्तम उपाय नै त्यसको पूर्वतयारी हो । चितले र उनका सहकर्मी डढेलोको उच्च जोखिम क्षेत्र पहिचान गर्न लागेका छन् । यो जानकारीले विशेष ध्यानाकर्षण आवश्यक भएको क्षेत्र पत्ता लगाउन र डढेलो नियन्त्रणको पूर्वतयारी गर्न वन अधिकारीलाई सहयोग पुग्ने उनीहरूले आशा गरेका छन्।

मनोगाबे डट कमबाट

प्रकाशित मिति: ०७:०६ बजे, सोमबार, जेठ १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्