शेयर बजारमा आज विक्रेताको चाप
काठमाडौं, जेठ १२ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ९३ अंकले घटेर १३०२ दशमलव ६१ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार....
काठमाडौं, जेठ १२ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ९३ अंकले घटेर १३०२ दशमलव ६१ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचकमा ० दशमलव ९१ प्रतिशतकोे गिरावट देखिएको छ।
आज बजार १३१४ दशमलव ५५ को विन्दुमा खुलेको थियो भने १३१७ दशमलव ८६ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १३०१ दशमलव ३२ थियो। आज दिनभरमा ६२ करोड ६२ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको ४ करोड ८५ लाख बराबरको शेयर किनबेच भएको छ र अन्तिम मुल्य ३३६ मा रहेको छ। आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले कमाए भने अन्तिम कारोबार मुल्य १३७६ मा भएको थियो।
त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ७५ प्रतिशतले गुमाए र अन्तिम मुल्य १११ मा रहेको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३०९ भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने संकेत गरे पनि अर्को सामान्य टेवा १३०० देखि १३०५ को क्षेत्रमा रहेको भनिएको थियो। आज कारोबार खुलेपछि बजार केही अंकले बढे पनि बजार त्यसपछि घट्दो प्रवृत्तिमा रह्यो र बजार १३०२ दशमलव ६१ अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम तल्लो प्रवृत्ति रेखा अर्थात १३०० को मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। यो आफैमा मनोवैज्ञानिक टेवा क्षेत्र हो। आजको मैनबत्तीले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाणले पनि विक्रेताको चाप रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, हिजो र आजको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ र बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्सेको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको र यो ईएमए हाल प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स २४ दशमलव ८७ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुले बजार सकारात्मक भइहाल्ने संकेत गरेको देखिँदैन। तर यदि बजार १३ सय १३ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। हालको तत्कालीन प्रतिरोध १३०९ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १३०० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२८५ मा रहेको देखिन्छ।