Kathmandu Press

मेलम्चीको बाँकी काम सक्न अर्को साता टेन्डर

काठमाडौं, जेठ १० : मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सिध्याउन आगामी साता ठेक्का दिने तयारी गरेको छ। मन्त्रिपरिषद् बैठकले मेलम्चीको बाँकी क....

मेलम्चीको बाँकी काम सक्न अर्को साता टेन्डर

काठमाडौं, जेठ १० : मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सिध्याउन आगामी साता ठेक्का दिने तयारी गरेको छ। मन्त्रिपरिषद् बैठकले मेलम्चीको बाँकी काम अघि बढाउने निर्णय गरेसँगै आयोजनाले ठेक्काको तयारी गरेको हो।

आयोजनाका सूचना अधिकारी इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनाको टेण्डरका लागि अन्तिम तयारी पूरा भएको छ। काठमाडौं प्रेससँग कुरा गर्दै उनले भने, ‘सिएमसीले आयोजना छोड्ने बेलैदेखि बाँकी काम गर्ने योजना बनाएको थियो। त्यही फाइल लामो समयदेखि मन्त्रालयमा थियो। मन्त्रिपरिषद्ले त्यही निर्णय गरेको हो। हामी बाँकी कामको तयारीमा छौं। अर्को सातासम्म टेण्डर हुन्छ।’

विज्ञहरुले सरकारले संक्रमणकालीन अवस्थामा गरेको यो निर्णयलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। पूर्वसचिव किशोर थापाले सार्वजनिक खरिद ऐनअनुसार नै अगाडि बढाइएको यो प्रक्रियाले सकारात्मक सन्देश दिएको बताए। उनले भने, ‘यो सकारात्मक विषय हो। अलि पहिल्यै गर्नुपर्थ्याे। सरकारले गर्नुपर्ने नै यहीँ थियो ।’

Hardik ivf

इटालियन ठेकेदारको ठेक्का भए पनि अधिकांश काम नेपाली ठेकेदार नै गरिरहेका हुँदा अब तिनै उपकरणहरु प्रयोग गरेर काम अगाडि बढाउन समस्या नहुने उनको भनाइ छ। ‘अहिले साइटमा रहेका उपकरण र सम्बन्धित नेपाली ठेकेदारहरुलाई भने सरकारले प्रक्रियागत रुपमा मनाउनुपर्ने छ’, उनले भने, ‘सिएमसीसँगको प्रक्रिया मिलाउँदै गर्ने हो। यताको कामहरु सरकारले नयाँ तरिकाले गर्नुपर्छ। उताको विषय पर्खेर बस्दा धेरै समय लाग्न सक्छ।’

बाँकी काम सक्न तीन अर्ब
मेलम्चीको बाँकी काम सक्न कम्तीमा ३ अर्ब बजेट लाग्ने अनुमान छ। गत डिसेम्बर १९ मा एकतर्फी रुपमा ठेक्का तोडेर सिएमसीले एकतर्फी ठेक्का तोडेको थियो। त्यसपछि सरकारले पनि सिएमसीसँगको ठेक्का तोडेको घोषणा गरेको थियो।  

सरकारले विसं २०६५ मा सो आयोजना निर्माण गर्न ‘सिआरसिसिसी’ नामक चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो। कम्पनीले २०६९ असोज ९ गते सम्झौता भङ्ग गरेपछि सरकारले २०७० असार ३१ गते इटालीको सिएमसीसँग निर्माणको सम्झौता गरेको थियो। 

मेलम्ची खानेपानी आयोजना सुरुङको ९३ प्रतिशत काम सम्पन्न भएको आयोजनाले  दाबी गर्दै आएको छ। मेलम्ची पूर्ण रुपमा सञ्चालनमा आउन झण्डै ३ वर्ष लाग्ने भए पनि पटक–पटक मिति तोकिँदै आएको छ। 

२०७३ साल बैशाखदेखि पटक–पटक मेलम्ची काठमाडौंबासीका घर–घरमा आउने समय तोकिए पनि सो विषय भ्रमपूर्ण भएको संलग्न इञ्जिनियर तथा निर्माण व्यवसायीहरुको दाबी छ। २०७३ सालको वैशाखदेखिका प्रत्येक ५ महिनामा मेलम्चीको पानी काठमाडौं ल्याउने मिति तोकिँदै आए पनि अस्थायी रुपमा मात्रै ल्याउन लागिएको जानकारहरु बताउँछन्। 


 

प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, जेठ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्