अब निर्माता र वितरकको मोबाइलमै बक्स अफिस डाटा : चलचित्र बोर्ड
काठमाडौं, जेठ ९ : चलचित्र विकास बोर्डले पोहोर साउन महिनादेखि देशभर बक्स अफिस लागु गर्ने घोषणा गरेको थियो। तर, त्यो घोषणा कार्यान्वयन भएन।
यस....

काठमाडौं, जेठ ९ : चलचित्र विकास बोर्डले पोहोर साउन महिनादेखि देशभर बक्स अफिस लागु गर्ने घोषणा गरेको थियो। तर, त्यो घोषणा कार्यान्वयन भएन।
यस वर्ष सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि बक्स अफिस लागु गरेरै छाड्ने घोषणा गरेका छन्। उपत्यकाबाहिर बक्स अफिस लागु गर्न चलचित्र विकास बोर्डलाई निर्देशन दिइसकिएको पनि मन्त्री वाँस्कोटाले बताएका छन्।
यस विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईसँग गरिएको कुराकानी–
उपत्यकाबाहिर बक्स अफिस लागु गर्ने काम कहाँ पुग्यो?
काम हुँदैछ। काठमाडौंबाहिर ८० वटा जति फिल्म हल छन्, जहाँ इ–टिकेटको व्यवस्था छैन। ती हलमा इ–टिकटको व्यवस्था गर्न आवश्यक हार्डवेयर र सफ्टवेयर जडान गर्न नेपाल सरकारको अनु्दान दिइरहेको छ। हामीले काठमाडौंबाहिरका हलहरूमा बक्स अफिस लागु गर्न कुन हलको सिट संख्या कति छ भन्ने लगायतका बिवरण संकलन गरी यहाँ कम्प्युटरमा अपलोड गर्ने काम गरिरहेका छौँ।
उपत्यकाबाहिर कहिलेदेखि बक्स अफिस लागु हुन्छ त?
यही जेठ १८ गते सर्लाहीको लालबन्दीस्थित वीणा चलचित्र मन्दिरमा सञ्चार मन्त्रीज्यूले बक्स अफिस उद्घाटन गर्दै हुनुहुन्छ। यो सुरुवात हुनेछ। त्यसपछि असार मासान्तभित्र काठमाडौंबाहिरका सबै हलमा बक्स अफिस लागु हुनेछ।
तर, काठमाडौंमै लागु भएको बक्स अफिस पनि नाममात्रैको भएको गुनासो छ नि !
अहिले हामीले उपत्यकाबाहिर ध्यान केन्द्रित गरेका छौँ। अब लगभग डेढ महिनामा सबै काम सक्नु छ। यो असार मासान्तभित्र देशभर बक्सअफिस लागु भएपछि काठमाडौंमा पुनः ध्यान केन्द्रिन गर्नेछौँ। त्यसपछि नाम मात्रैको भनिएको काठमाडौंको बक्सअफिस पनि कामको हुनेछ।
काठमाडौंको बक्स अफिसबाट किन सही डाटा आउँदैन?
हो, यो एउटा समस्या हो। हामीले काठमाडौंका हल सञ्चालकहरूलाई भनिसकेका छौं – सही डाटा आएन, २० देखि २५ प्रतिशत डाटामा गडबडी छ, यो काम सुधार्नुपर्यो। यस विषयमा हामीले साउन १ गतेदेखि कडाई गर्दैछौँ।
तपाई आफैं निर्माता हुनुहुन्छ, बक्स अफिस लागु हुँदा र नहुँदा निर्मातालाई के कस्तो नाफा–घाटा होला?
देशैभरि बक्स अफिस लागु हुँदा निर्माताहरूलाई राहत मिल्छ। हामीले निर्माता र वितरकले आफ्नो फिल्मको डाटा आफ्नै मोबाइलमा हेर्न मिल्ने एसओपी डेभलोप गर्दैछौँ। यो काम पनि साउनमै सक्ने लक्ष्य लिइएको छ। यसले गर्दा निर्मातालाई सजिलो हुन्छ।












