दार्जिलिङ र सिक्किमको संगम बन्दै पलेँटी
काठमाडौं, जेठ ९ : हरेक महिना भिन्नभिन्न स्वादमा पस्किदै आएको ‘पलेँटी श्रृंखला’मा यो पटक दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ।
....

काठमाडौं, जेठ ९ : हरेक महिना भिन्नभिन्न स्वादमा पस्किदै आएको ‘पलेँटी श्रृंखला’मा यो पटक दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ।
यसका लागि दार्जिलिङबाट संगीतकार शान्ति ठटाल गान्तोकका दुई गायीका बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसहित काठमाडौं आएकी छन्।
ठटाल फुटकर गीत बाहेक काव्य-संगीत अर्थात क्यान्टटा, गीति नाटक, चलचित्रलगायत विविध विधामा संगीत भरेकी छन्। बिमला र अञ्जलीले संगीतकार ठटालकै सानिध्यमा रहेर निखारिएका सिल्पी हुन्।
सन् २००५ मा थालिएको पलेँटीको मञ्चमा ठटालले यस अघि पनि आफ्ना सृजना प्रस्तुत गरिसकेकी छन्।
पलेँटीका निम्ति गीत छनोट गरिरहेकी संगीतकार ठटालले पलेँटी आफनै घरको बैठकजस्तो लाग्ने बताइन। ‘म जति खेप यहाँ आउँछु हरेकखेप नयाँ सांगीतिक उर्जा भेट्छु,’ उनले भनिन्, ‘आफ्नो उमेर पनि बिर्सन्छु। जाँगर बढ्छ। पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ।’
यो सगैं गायिका बिमला र अञ्जली पनि संगीतकार ठटालसँग पलेँटी मञ्च सेयर गर्न पाउदा खुशी लागेको बताउँछन्।
पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, स्रोतासामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारलाई प्रस्तुत गर्दै आएको छ। ‘पलेँटीमार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो। उहाँको सृजनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ,’ पलेँटी संयोजक आभासले भने, ‘आठ दशक पार गरिसक्नु भएको शान्ति दिदीको सृजनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ।’
कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा आयोजना हुने पलेँटीमा ठटाल र उनको टीमलाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्।
जेठ १७ गतेदेखि सुरू हुने ठटालसँगको पलेँटी तीन दिनसम्म चल्नेछ।












