Kathmandu Press

विवाहसँग किन डराउँछन् युवती ? 

दुई परिवारबीच कुरा मिल्यो भने एकछिन केटाकेटीलाई भेटाएर बिहे अगाडि बढाइन्छ । अझ केटा राम्रो जागिर वा पेसाको पर्‍याे  भने केटीलाई धेरै बोल्नै दिइन्न । यस्तो केटा पाउन गाह्रो छ भनेर जबर्जस्ती नै गरिन्छ । फेरि एकछिन भेटेको केटा वा केटीको बारेमा के थाहा पाउन सकिन्छ र ?
विवाहसँग किन डराउँछन् युवती ? 

काठमाडौं, माघ १४ : ‘मलाई त डर लाग्छ यार । घरकाले खोजिदिएको केटा कस्तो पर्ने हो, आफूलाई बुझ्ने हो कि होइन ?’ 

काठमाडौंको एक क्याफेमा तीन युवती गफिँदै थिए । हाँसीहाँसी बोले पनि उनीहरूको कुरा गम्भीर थियो । 

‘बिहेसँग नडराउने बन्न के गर्नुपर्ला, वा के हुनुपर्ला ?’ म उनीहरूको नजिक गएर सोधेँ । मिडिया भनेपछि उनीहरू परिचयसहित खुल्न चाहेनन्, जवाफ भने दिए । 

Hardik ivf

बैंकमा काम गर्ने २४  वर्षीया ती युवतीले भनिन्, ‘खासमा प्रेम विवाह गर्न, वा केही समय केटो वा केटीको आनीबानी बुझ्न पाउनुपर्छ जस्तो लाग्छ ।’

‘त्यही आनीबानी मिलाउन त चिना हेर्ने गरिन्छ नि हिन्दू समाजमा ?’ अर्की युवती बोलिन् ।

उनले जवाफ दिइन्, ‘त्यस्तो होला । तर अचेल चिना मिलाउनतिर लाग्दैनन्, दुई परिवारबीच कुरा मिल्यो भने एकछिन केटाकेटीलाई भेटाएर बिहे अगाडि बढाइन्छ । अझ केटा राम्रो जागिर वा पेसाको पर्‍याे भने केटीलाई धेरै बोल्नै दिइन्न । यस्तो केटा पाउन गाह्रो छ भनेर जबर्जस्ती नै गरिन्छ । फेरि एकछिन भेटेको केटा वा केटीको बारेमा के थाहा पाउन सकिन्छ र ? यो चिनाको कुरा छ नि, कति त चिना नहेर्ने पनि छन् नि !’

भान्छामा समेत आफूलाई मनपर्ने खानेकुराभन्दा पनि उनीहरूलाई मन पर्ने परिकार बनाउनुपर्छ । यसरी नयाँ बेहुलीले आफ्ना इच्छा मारेको, अनेक सम्झौता गरेको मैले देखेकी छु, त्यसैले आफ्नो विवाहको बारेमा सोच्दा मलाई पनि त्यस्तै मनमा आउँछ ।

उनको जोड प्रेम विवाह, वा केही समयको देखभेटपछि मात्रै विवाह छिन्नुपर्नेमा थियो । 
‘कति प्रेम पनि सफल हुँदैन नि ?’ मैले सोधेँ । 
यो प्रश्नमा उनको प्रतिप्रश्न थियो, ‘विवाह पनि सफल हुन्न नि !’  

‘प्रेम वा विवाह एक किसिमको सम्झौता होइन र ?’ यो प्रश्नमा उनले तत्कालै जवाफ दिइन्, ‘त्यही त, सम्झौता कुन हदसम्म गर्ने त ! मेरो भनाइ त, बिहे र प्रेमलाई अलि खुकुलो बनाउनुपर्छ । अनि, बिहे गर्नेबित्तिकै बच्चा पाउनु हुँदैन । बच्चा भएपछि डिभोर्स गर्दा अलि बच्चालाई नेगेटिभ असर पर्दो रैछ, मैले एउटी दिदीको देखेकी छु ।’ 

‘तपाईंको कुरा राम्रो छ त । म यसलाई लेख्छु, तपाईंको नाम उल्लेख गर्न के हुन्छ ?’ 

उनको भर्खरै प्रेममा ब्रेकअप भएको रहेछ । उनको कसैसँग प्रेम भएको कुरा घरमा थाहा रहेछ । त्यसैले उनले अचेल केही असहज महसुस गरेकी रहिछन् र खुल्न चाहिनन् । उनले भनिन्, ‘तपाईंले लेखेको कतैबाट घरलाई वा आफन्तलाई थाहा भयो भने फेरि अनेक कुरा हुन्छ । बेकारको तनावमा किन आउने?’

बिहेको बारेमा साँच्चिकै हाम्रो समाजमा त्यति धेरै छलफल भएको पाइँदैन । पछि बिहे असफल हुन्छ कि भनेर पहिले नै तयारी गरिँदैन । बिहेपछिको समस्यामा पनि विज्ञबाट काउन्सिलिङ गर्ने अभ्यास हामीकहाँ त्यति विकास भइसकेको छैन।  

काभ्रेकी २४ वर्षीया संगीता रोक्का पनि आफ्नो बिहेबारे कल्पना गर्दा अनेक कुरा मनमा खेलाउन पुग्छिन् । काठमाडौंको गोकर्णेश्वर सहकारी संस्थामा जागिर गर्दै स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, ‘नयाँ मान्छे, नयाँ ठाउँमा गएर कसरी घुलमिल हुने डर मनमा आउँछ।’

उनी आफ्ना साथी र आफन्तमा दिदीबहिनीको बिहेपछिको जिन्दगी देखेर अड्कल गर्दै भन्छिन्, ‘उनीहरूको चालचलन रीतिरिवाज केही थाहा हुँदैन । केटाको परिवारलाई के मन पर्छ ? के मन पर्दैैन थाहा हुँदैन । भान्छामा समेत आफूलाई मनपर्ने खानेकुराभन्दा पनि उनीहरूलाई मन पर्ने परिकार बनाउनुपर्छ । यसरी नयाँ बेहुलीले आफ्ना इच्छा मारेको, अनेक सम्झौता गरेको मैले देखेकी छु, त्यसैले आफ्नो विवाहको बारेमा सोच्दा मलाई पनि त्यस्तै मनमा आउँछ ।’ 

एक दाइ र दुई दिदीपछिकी कान्छी छोरी हुन् संगीता । घरमा उनको विवाहको कुरा चल्न थालेको छ । आफन्तहरू बेलाबेला बिहेको कुरा लिएर आइराख्छन् । विवाहको प्रताव सुन्नेबित्तिकै उनको जवाफ हुन्छ, ‘बिहेसिहे गर्दिनँ अहिले ।’

घरकी ६० वर्षीया हजुरआमा बाटुली रोक्काले आफूलाई सम्झाउँदै भनेको कुरा उनी सुनाउँछिन्, ‘छोरी मान्छे, अर्काको भित्ता टाल्ने जात हो भन्छन् । सधैँ माइतीमा बस्नु हुँदैन । जन्मघर छाडेर कर्मघरलाई आफ्नो घर बनाउनुपर्छ । हामीले त्यसै गरी छाडेर आएको हो ।’

अहिले जमाना बदलिएको छ, सोच बदलिएको छ तर समाज बदलिन सकेको छैन । विवाहको विषयमा छोराको तुलनामा छोरीले धेरै सम्झौता गर्नुपर्छ।   

बूढानीलकण्ठमा बसोबास गर्दै आएकी २६ वर्षीया उषा खड्का आफ्नो विवाहको कुरा सोच्नेबित्तिकै मनमा एक किसिमको डर, उत्सुकता उत्पन्न हुने बताउँछिन् । स्नातक तहको अध्ययन सकाएर डेढ वर्षदेखि बेकरी सपमा काम गर्दै आएकी उनलाई घरमा विवाह प्रस्तावको कुरा आउनेबित्तिकै ‘विवाह गरेर जाने घरमा माइतीघरमा जस्तो स्वतन्त्रता हुँदैन’ भन्ने लाग्छ । घरमा उनको बिहेको कुरा चल्न थालेको दुई वर्ष भयो । परिपक्व उमेरमा प्रेम गरी विवाह भयो भने दुवैको आनीबानी, घरपरिवारबारे थाहा हुने भएकाले बिहे सफल हुन सक्ने उनको बुझाइ छ । आफ्नो साथीले प्रेम विवाह गरेको र समस्या नआएको पनि उनले देखेकी छन् ।  उनी हाँस्दै भन्छिन्, ‘आफ्नो लभ पनि परेको छैन । मागी विवाह गर्न आफूले भने जस्तो नहोला भन्ने डर लाग्छ।’ 

मनोविद् करुणा कुँवर विष्टका अनुसार, बाल अवस्थामा विवाह सम्बन्धबारे देखेका कुराहरूले पनि महिलाको मनोविज्ञानमा प्रभाव पारेको हुन्छ । त्यसैले कतिपय युवतीले विवाहको निर्णय गर्नुपर्दा धेरै सोच्छन् ।  उनी भन्छिन्, ‘घर–परिवारको अवस्था, समाजमा अरुको विवाह सम्बन्ध, पहिलो प्रेम सम्बन्धको भोगाइ आदिले पनि विवाहको निर्णयमा प्रभाव पर्ने देखिन्छ।’

पत्रकारितामा मास्टर डिग्री सकाएकी २७ वर्षीया सुमिता राईले अघिल्लो वर्ष अन्तर्जातीय प्रेम विवाह गरेकी हुन्, भूपेन्द्रसिंह ठकुरीसँग । विवाह गर्नुपूर्व आएको सोचाइबारे उनी भन्छिन्, ‘प्रेम विवाह गर्न लागे पनि विवाह पछि के कस्तो हुने हो ? परिवार र समाजले आफूलाई कसरी हेर्ने हो भन्ने एक किसिमको प्रश्नले सताएको थियो।’

‘दुई परिवारबीच कुरा मिल्यो भने एकछिन केटाकेटीलाई भेटाएर बिहे अगाडि बढाइन्छ । अझ केटा राम्रो जागिर वा पेसाको पर्‍याे  भने केटीलाई धेरै बोल्नै दिइन्न । यस्तो केटा पाउन गाह्रो छ भनेर जबर्जस्ती नै गरिन्छ । फेरि एकछिन भेटेको केटा वा केटीको बारेमा के थाहा पाउन सकिन्छ र ?’

महिला अधिकारकर्मी मोहना अन्सारी मागी विवाह गर्ने विषयमा केटीहरूले धेरै सोच्न सक्ने बताउँछिन् । उनका अनुसार, कहिल्यै नदेखेको मानिससँग विवाह गरेर जीवन बिताउने भनेपछि उनीहरूमा भविष्यलाई लिएर अनेक सोच आउनु स्वाभाविक हो । उनी सल्लाह दिन्छिन्, ‘परिपक्व उमेरमा एक अर्काको आर्थिक अवस्था, पारिवारिक पृष्ठभूमि थाहा पाएर बिहे गर्ने हो भने समस्या आउँदैन । परिपक्व उमेरमा विवाहको निर्णय लिन पनि सहज हुन्छ । विवाहपूर्व मानसिक र आर्थिक रुपमा तयार हुन केटा र केटीलाई नै आवश्यक हुन्छ । विवाहपछि महिलाले आफ्नो करिअरलाई सँगै लिएर गएको एकदमै कम देखिन्छ।’ 

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्