Kathmandu Press

‘काठको पाटी बोकेर स्कुल जान्थेँ’

कर्णालीमा बर्सेनि पुसे भैलो खेल्ने चलन छ। उनको गाउँमा भने गाउँभरिका छोरीहरू जम्मा भई १५–१६ दिनसम्म एकै ठाउँमा बस्छन्। यस अवधिभर उनीहरू दिनमा गाउँमा भैलो खेलेर ल्याएका अन्नपात रातमा एउटै भान्छामा पकाएर खान्छन्। यस्तै कर्णालीका कथा बाेकेर काठमाडाै‌ं कुद्छन् निर्देशक हीराबिजुली।
‘काठको पाटी बोकेर स्कुल जान्थेँ’
निर्देशक हीराबिजुली नेपाली। तस्बिरहरु : रिवाज राई

काठमाडौं, माघ ६ : ‘गर्भ छिटा’ अर्थात् बच्चा गर्भमै हुँदा बाबुआमाले बिहे छिन्ने कर्णाली भेगको परम्परा। ०७५ फागुनमा भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव’सँगै काठमाडौंमा प्रदर्शन गरिएको नाटक ‘गर्भ छिटा’, जसले बेग्लै चर्चा पायो। गर्भ छिटाका निर्देशक हुन्, हीराबिजुली नेपाली। हीराबिजुलीको चर्चा भने त्यसको एक दशक अघिदेखि नै भएको थियो, नाटक ‘कर्नाली दख्खिन बग्दो छ’बाट।

हीराबिजुली अहिले कर्णालीमा क्षेत्रमै रंगमञ्चमा सक्रिय छन्। मुगु जिल्लाका उनी कहिलेकाहीँ काठमाडौं आइरहन्छन्। गत साता काठमाडौंमा भेटिएका हीराबिजुलीले काठमाडौं प्रेसलाई आफ्नो संघर्षको कथा सुनाए।

उनका अनुसार, कर्णालीबाट एउटा नाटक काठमाडौंमा मञ्चन गराउन दुईवटा हवाईजहाज भाडामा लिनुपर्छ। १५–१६ जनाको टिमलाई काठमाडौंमा बसुन्जेल खान–बस्न व्यवस्था गरी नाटक देखाउन सहज छैन। साथीहरूसँग ऋण लिएर कलाकार तथा नाटककार हीराबिजुली काठमाडौं आउँछन् र नाटक मञ्चन गराएर कर्णाली फर्कन्छन्।

Hardik ivf

हीराबिजुली नेपाली।

उनी १० वर्षको उमेरमा बुवा श्याम दमाईसँग काठमाडौं आएका थिए, त्यतिबेला धेरै गाडी चलेको देख्दा उनलाई निकै रमाइलो लागेको थियो। बुवाले उनलाई तीनकुनेस्थित विद्यालयमा पढ्नलाई राखिदिए। आफू पढ्ने र बस्ने ठाउँ नजिकैबाट ठूलो हवाईजहाज उडेको देख्दा उनलाई रमाइलो अनौठो लाग्थ्यो। उनी भन्छन्, ‘दिउँसो विद्यालयमा साथीहरूसँग पढे पनि बिहान–बेलुकी हेडमास्टरकोे घरमा बस्थेँ। परिवारबाट टाढा हँुदा एक्लो भएको महसुस भएपछि भागेर गाउँ गएँ।’

गाउँमा उनी काठको पाटी बोकेर स्कुल जान्थे। लेख्नका लागि बाआमाले रातो माटोको धुलो चालेर प्लास्टिकका ठिक्क पारिदिन्थे। उनले अक्षर चिनेको काठको पाटीमा रातोमाटोले लेखेरै हो। पाटीमा माटो छरेर त्यसमा उनले अक्षर कोर्थे। त्यसरी पढ्न सुरु गरेका उनलाई काठमाडौं किन अनौठो र रमाइलो नलागोस्।

गाउँ फर्केर २०६० सालमा एसएलसी पास गरी उनी थप पढ्न काठमाडौं आए। विद्यालय छँदा नै सडक नाटकमा सक्रिय थिए। काठमाडौं आर्थिक अभावले बस्न गाह्रो भएका बेला उनको भेट निर्देशक मिनबहादुर भामसँग भयो। हीराले मिनसँग घर जानका लागि खर्च सापटी मागे। तर, मीनले गाउँ नफर्कन र यही नाटकमा संघर्ष गर्न सल्लाह दिए। त्यसपछि हीराले गुरुकुलमा डेढ वर्ष र एक्टर्स स्टडुयोमा तीन महिना नाटक अध्ययन गरे। यसपछि भने नाटकको क्षेत्रका उनको काम सुरु भयो।

कर्णाली आर्ट सेन्टरले उनको संयोजकत्वमा पहिलोपटक काठमाडौंमा २०६५ नाटक ‘कर्नाली दखिन बग्दो छ’ प्रस्तुत गरेको थियो। उक्त नाटकले काठमाडौंमा निकै चर्चा कमायो। यस नाटक हेर्न तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि नेता प्रचण्ड समेत उपस्थित थिए। काठमाडौंमा उक्त नाटक प्रदर्शन भएको चार वर्षपछि कर्णालीमा पहिलोपटक गाडी पुगेकोे उनी बताउँछन्।

काठमाडौंमा नाट्य क्षेत्रमा राम्रै चर्चा कमाएपछि उनी कर्णालीमै गएर काम गर्ने निधो गरे। तर, गाउँमा नाटक गर्न सहज थिएन। उनले गाउँ फर्केर थप संघर्ष गर्नुपर्यो। उनी भन्छन्, ‘मलाई थिएटरले यो सिकाएको छ कि जीवन सजिलो गरी बाँच्नुपर्छ र बाँच्नलाई जे काम पनि गर्नुपर्छ। श्रीमती (विष्णुमाया परियार)को पेटमा बच्चा थियो। आर्थिक अवस्थाले निकै गाह्रो परेपछि म गाउँमा घर बनाउने ठाउँमा ढुंगा फोर्ने काम गर्न थालेँ।’

आजभन्दा दश वर्ष अघिसम्म कर्णालीमा नाटक खेल्नेलाई राम्रो मानिँदैनथ्यो, विशेषगरी छोरीहरूलाई। तर, अहिले आफ्नो क्षेत्रमा महिलाहरु नै बढी नाटकमा सक्रिय रहेको उनी बताउँछन्।

उनको कर्णालीमा बर्सेनि पुसे भैलो खेल्ने चलन छ। हीराको गाउँमा भने गाउँभरिका छोरीहरू जम्मा भई १५–१६ दिनसम्म एकै ठाउँमा बस्छन्। यस अवधिभर उनीहरू दिनमा गाउँमा भैलो खेलेर ल्याएका अन्नपात रातमा एउटै भान्छामा पकाएर खान्छन्। साथमा यस समयमा उनीहरूले कुटुम्बका केटाहरूलाई निम्तो दिएर बोलाउने चलन छ। जहाँ उनीहरू एकआपमा रमाइलो गरी खेल्ने गर्छन्। कर्णालीमा छोरीहरू यति स्वतन्त्रताको संस्कार दिँदादिँदै पनि जातपात वा जातीय विभेद चर्को छ।

यस्तै पुसे भैलोमा उनको भेट विष्णुमाया परियारसँग भयो। हीरा आफ्नो भाषा, संस्कृति र आफूलाई बुझ्ने जीवनसाथीको खोजीमा थिए। यसरी १७ वर्षीय विष्णुमायासँग उनले २३ वर्षको उमेरमा प्रेम विवाह गरे।

एक दिदी र चार दाजुभाइमा हीरा साइँला छोरा हुन्। पढाइ राम्रो भएकाले हीरालाई परिवारले सरकारी जागिर खान जोड गर्थे, नाटकमा नलाग भन्थे। हीरालाई थाहा थियो, नाट्य क्षेत्रमा संघर्ष बढी छ, आर्थिक अभाव छ तर उनले यही क्षेत्र रोजे। उनी भन्छन्, ‘जिन्दगीमा पैसा नै ठूलो होइन, तर नेपाली नाट्य क्षेत्रलाई सफल र सम्मानित बनाउन, यसमा लागेर भोको बस्न नपर्ने बनाउन हामी लागिरहन्छौं।’

हीराबिजुली नेपाली।

कोरोना महामारीले नाटक क्षेत्रका कलाकारलाई पनि ठूलो प्रभाव पा¥यो। तर हीराले यसलाई खराब रुपमा मात्रै लिएका छैनन्। उनी भन्छन्, ‘केही सिर्जना गर्न शान्त वातावरण पनि थियो त्यो। मैले दुईवटा नाटक, एउटा सर्ट फिल्म लेखेको छु।’

कर्णालीमा नाटक हेर्ने बानीको विकास गराउन आफ्नो समूह सफल भइसकेको उनको भनाइ छ। तर, आर्थिक रुपमा भने समस्या नै छ। उनी भन्छन्, ‘विभिन्न निजी संघ–संस्थाको जनचेतनामूलक कार्यक्रमको अभियान चलाएर आफ्नो टिमलाई आर्थिक जोहो गरिरहेका छौँ।’

केही समयअघि त्रिभुवन विश्व विद्यालयका विद्यार्थीले कर्णालीमा गएर चित्रकला बनाएका थिए। उक्त चित्र अहिले उनको आर्ट सेन्टरलाई उपहार दिइएको छ। पछिल्लो समय उनी उक्त चित्रकला कलाप्रेमीका लागि बिक्री गर्ने योजना बनाएका छन्। साथमा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गर्ने भएका छन्।

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्