यः मरीको कथा र नेवार संस्कृति
यः मरी र कुबेरले दिएको बिमिरो फल चढाएर चार दिनसम्म पूजा गरेपछि भकारीबाट जति धान निकाले पनि नघटी जतिको त्यति नै भइरह्यो । त्यसबेलादेखि नै यःमरी बनाई चढाउने र बाँड्ने चलन बसेको हो।काठमाडौं, पुस १५ : यःमरी पुन्हीको अघिल्लो दिन (मंगलबार) बिहान १० बजे ५२ वर्षीय द्वारी महर्जन पूजाका सामग्री लिएर लाजिम्पाटको सडकमा हतार–हतार हिँड्दै थिए । प्रायः महिलाले पूजाका सामग्री लिएर मन्दिर वा कुनै तीर्थस्थल गएको दृश्य नौलो होइन, यी दाइचाहिँ पूजाका सामान लिएर कता जाँदै होलान् ? के पर्व विशेष पर्यो होला?
लाजिम्पाट घर भएका उनले भने, ‘रानीवन हिँडेको नानी । त्यहाँ हाम्रो कुलदेवीको मन्दिर छ, रानीदेवीको मन्दिर । नयाँ धान भित्रिएपछि त्यहाँ पूजा गरेर चढाउने चलन छ । यःमरी पूर्णिमाको अघिल्लो दिन नै हामी यो पूजा लैजान लागेका हौं।’
नेवारहरूको अन्न र परिकारसँग सम्बन्धित विशेष पर्व यःमरी पुन्ही यसपालि १५ पुसको दिन परेको छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार, वर्षभरिका १२ वटा पूर्णिमामध्ये मार्गशुक्ल पूर्णिमालाई यःमरी पुन्ही भन्ने गरिन्छ । यस दिन नेवार समुदायले मौलिक प्रकारको रोटी यःमरी पकाई खाने गर्छन् । यही रोटीको नामबाटै यस पूर्णिमाको नाम रहेको हो।
यो पूर्णिमा थिंला पुन्ही, मार्ग पूर्णिमा, धान्य पूर्णिमा, गैंडु पूर्णिमा आदि नामबाट पनि प्रचलित छ।
संस्कृतिविद् वज्राचार्य भन्छिन्, ‘यो पूर्णिमाभित्र धान काटेर तलसिं हुनेले तलसिंलाई बुझाएर र नहुनेले धान काटी भकारीमा राखिसक्नुपर्ने हुनाले यसलाई धनधान्य पूर्णिमा पनि भनिएको हो । यो पूर्णिमा नेवारहरूको संस्कृति, सभ्यता अझ भनौँ कृषिसँग सम्बन्धित छ।’
यःमरीको स्वाद र बालबालिका
ठमेलमा हुर्केकी पूर्णिमा मालाकारलाई यःमरी पुन्ही भन्नेबित्तिकै बालापनका दिन सम्झना हुन्छ । लाजिम्पाटस्थित ‘सूरिया वेलनेस एन्ड योगा सेन्टर’मा योग प्रशिक्षक रहेकी पूर्णिमा भन्छिन्, ‘सानोमा हामीले यःमरीमा मासको दानाको आँखा टाँसेर घोडा, पुतली, गणेश, लक्ष्मी बनाउँथ्यौँ । अनि, धानको भकारीमा राख्थ्यौँ । चार दिनपछि आफूले राखेको यःमरी मेरो हो भन्दै निकालेर खान्थ्यौँ।’
अचेल स्टिलको भाँडामा पकाउने यःमरीभन्दा पहिले माटोको भाँडामा पकाउने यःमरीको स्वाद सम्झेर पूर्णिमाको जिब्रो रसाउँछ । उनी भन्छिन्, ‘म सानो छँदा दाउराको चुल्होमा माटोको प्लेटमाथि राखेर उसिनेर यःमरी बनाइन्थ्यो, त्यसको स्वादै अलग हुन्थ्यो।’
मंगलबार उनको भान्छामा टाइचिन धानको चामललाई मसिनो गरी पिसेर पानीमा मुछेर यःमरी बनाउन ठिक्क पारिएको थियो । पूर्णिमाकी आमा लक्ष्मीले यःमरी बनाउने सम्पूर्ण सामग्री तयार गरिसकेकी थिइन् । पूर्णिमा भन्छिन्, ‘खुवा र चाकु राखेर बनाइने यस परिकारमा स्वादका लागि सुकुमेल मसला र नरिवल कोरेर मिसाइन्छ।’
स्कुल पढ्दा पूर्णिमा पनि आफ्नी आमासँग घरनजिकैको भगवान बहाल मन्दिरमा यःमरी लिएर चढाउन जान्थिन् । कलेजको पढाइ सुरु गरेपछि भने फुर्सद नमिलेर यःमरी चढाउन मन्दिर जान भ्याएकी छैनन्।
यःमरी पुन्हीको भोलिपल्ट मकलमा आगो बालेर त्यसको वरिपरि धेरैजना बसी यःमरी खाने गर्छन् । यसरी यःमरी खाँदा पूर्णिमालाई आफ्नो संस्कृतिसँग जोडिएको आभास हुन्छ।
संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार, बच्चाहरूलाई मकल बाली त्यसको वरिपरि राखेर यस दिन तातो बनाउने र खेलाउने गरिन्छ । उनी भन्छिन्, ‘यःमरी पुन्हीको दिन बाल्न सुरु गरेको मकल शिवरात्रिसम्म ताप्ने चलन छ । मकलभित्र बलेको आगोको भुङ्ग्रोमा आलु, अण्डा र लसुन पोलेर बच्चाहरूलाई खुवाइन्छ । जसले उनीहरूलाई रमाइलो गराउनुको साथै ती खानेकुराले शरीर न्यानो गराउँछ ।’
वज्राचार्यका अनुसार, यःमरी भनेको जाडो छल्न नयाँ धान भित्र्याएपछि खाने परिकार हो । सांस्कृतिक रुपले परिपूर्ण यःमरी बनाउने खास विधि छ।
सबैभन्दा पहिले नयाँ वा पुरानो चामलको मसिनो पिठोलाई तातोपानीमा मुछ्नुपर्छ । यःमरी बफ्याउँदा नफुटोस् भनी मुछेको पिठोलाई कपडामा पोको पारेर राखिन्छ । यसबाट इच्छानुसारको डल्लो हातमा लिएर त्यसलाई एकातिर चुच्चो पारी अर्कोतिर औँला घुसारेर पातलो बनाउँदै लगिन्छ । यसरी प्वाँल पारेपछि त्यसमा सखर, तिल पकाएर (स्वाद बढाउन काजु–किसमिस लगायत पनि मिसाउन सकिन्छ) त्यसको झोल राखी प्वाँल बन्द गरिन्छ । त्यसपछि स्तुपाकारमा यःमरीलाई बफाएर पकाइन्छ।
यसरी हेर्दा यःमरी विशेषतः बालबालिकालाई जाडोदेखि बचाउन खुवाइएको देखिन्छ।
परिकारसँग सम्बन्धित यःमरी पुन्ही नेवारहरूको विशेष चाड हो । नेपालमा धेरै चाडपर्व खाना वा परिकारसँग सम्बन्धित छन् । नेवारहरूको मौलिक परिकार यःमरी यस पूर्णिमा दिन मात्रै नभएर विभिन्न संस्कारमा पनि प्रयोग गरिन्छ । केटाकेटीहरूको दोस्रो जन्मदिन मनाउन, वृद्धवृद्धाको जंक्व गर्न र विभिन्न देवीदेवतालाई चढाउन यःमरीको प्रयोग हुन्छ।
नेवारी संस्कृतिमा देउसीभैलोजस्तै बालबालिकाले यःमरी माग्ने अर्थात् त्यःछिंत्यः माग्न जाने प्रचलन पनि छ । उनीहरू नेवारीमा गीत गाउँदै यःमरी माग्छन्।
यःमरी मिथक
यःमरी बनाउने, भकारीमा चढाउने र चार दिनपछि त्यसलाई निकालेर खाने सम्बन्धमा एउटा लोककथा वा मिथक छ ।
चुन्दा वज्राचार्यका अनुसार, यःमरी पुन्हीको खुसियालीमा यो कथा सम्झने परम्परा छ।
लोककथा भन्छ:
पाञ्चाल (पनौती) देशको एउटा गाउँमा सुचन्द्र नामक व्यक्तिका दम्पती बस्दथे । उनीहरू दुःखी–गरिबहरूप्रति अति नै दयालु थिए । यिनीहरू कतिका दयालु रहेछन् भनी परीक्षा लिन एक दिन कुबेर देवता गरिबको भेषमा माग्न आए । घरमा माग्ने मानिस आएको देखेर सुचन्द्रकी पत्नीले उनलाई नयाँ लुगा दिनुका साथै मिठो परिकार बनाएर खुवाइछन् । त्यसपछि कुबेर खुसी भई सुचन्द्रकी पत्नीलाई ज्ञानगुनका कुरासँगै एउटा बिमिरो फल दिएर गएछन् ।
यो कुरा पत्नीले सुचन्द्र घरमा आएपछि सुनाइन् । त्यसपछि दम्पती मिली सखरतिलको झोल चामलको रोटीभित्र राखी बफ्याएर यःमरी बनाए । अनि, कुबेरले दिएको बिमिरो र यःमरी अन्नको भकारीभित्र राखी चार दिनसम्म पूजा गरे । चार दिनपछि यःमरी उनीहरूले पनि खाए र अरुलाई पनि बाँडिदिए । यसो गर्दा भकारीबाट जति धान निकाले पनि नघटी जतिको त्यति नै भइरह्यो । त्यसबेलादेखि नै यःमरी बनाई चढाउने र बाँड्ने चलन बसेको हो।