Kathmandu Press

डोटीका सबै विद्यालयमा पठनपाठन सुरु

डोटी, पुस ९ : डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन सुरु भएको छ।कोभिड–१९ का कारण विगत आठ...
डोटीका सबै विद्यालयमा पठनपाठन सुरु

डोटी, पुस ९ : डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन सुरु भएको छ।

कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन सुरु भएसँगै विद्यार्थी पनि खुशी भएका छन्। भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै पुस १ गतेदेखि पठनपाठन सुरु गरिएको हो।

जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन्। सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन्।

बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताए। लामो समयपछि विद्यालय खुलेसँगै विद्यार्थीको सहभागिता पनि पनि बढेको उनले बताए।

कोरोना महामारीका कारण आठ महिनासम्म घरमा बसेका विद्यार्थी विद्यालय जान पाएपछि निकै खुशी हुन थालेको आदर्श गाउँपालिका–२ का हर्कबहादुर खड्काले बताए। प्रायः सबै विद्यार्थी अहिले नियमित विद्यालय जान थालेको उनले बताए।

जिल्लाका नौवटै स्थानीय तहमा कम्तीमा पनि मावि, निमावि, प्रावि तथा निजी गरी दुई सय विद्यालय अहिले एकै साथ सञ्चालनमा आएपछि विद्यालयबाट नै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै अभिभावकमा चिन्ता बढ्न थालेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए।

कोरोनाका कारण महिनौँदेखि बन्द भएका यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक गणेशबहादुर सिंहले बताए। (रासस)

प्रकाशित मिति: १०:१३ बजे, बिहीबार, पुस ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्