Kathmandu Press

विवाह भएको तीन दिनमै बहिनीको हत्या

खोटाङ, पुस ८ : खोटाङका एक युवकले बहिनीको विवाह भएको तीन दिनमै हत्या गरेका छन्।ति युवकले आफूले रोजेको केटा विवाह नगरेका कारण बहिनीको...
विवाह भएको तीन दिनमै बहिनीको हत्या

खोटाङ, पुस ८ : खोटाङका एक युवकले बहिनीको विवाह भएको तीन दिनमै हत्या गरेका छन्।

ति युवकले आफूले रोजेको केटासँग विवाह नगरेका कारण बहिनीको हत्या गरेको प्रहरीले जनाएको छ। खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको तीन दिनअघि विहे भएको थियो।

पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्या गर्नुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए। 'हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुभयो,' उनले भने, 'घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो।'

भिनाजुुको घरबाट हिँडेको करीब एक घन्टामै दिदीको हत्या भएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताए। 'दाजु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्,' उनले भने, 'आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ । हत्यामा संलग्न दाजुु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस्।'

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए। भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौंमा सिलाइ/कटाइ पेशा गर्दै आएकी थिइन्।  

केही समय अगाडि मात्रै काठमाडौंबाट सेखुवा आएकी सकुुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए। सकुन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्।

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। 'घटनाबारे अनुसन्धान भइरहेको छ, उनले भने, “हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ।'

दाजुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन्। उत्तिसको लाथ्रो (लौरो)ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ। (रासस)

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, पुस ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्