मन्दिर खुलेसँगै पशुपति क्षेत्रमा बढ्न थाल्यो भक्तजनको चहलपहल
काठमाडौं, पुस ६ : नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ। पुस महिनाको चिसोमा...
काठमाडौं, पुस ६ : नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ।
पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन्। भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ। नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म तीन लाख ८२ हजार ८०६ जम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिP.
पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन्। सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ। हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उनले बताए। मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन थालेका छन्। नौ महिनासम्म फूल प्रसाद व्यवसायी पसल बन्द गरेर बसेका थिए । चिसोसँगै पशुपति क्षेत्रमा टहल्ने र घाम ताप्नेको सङ्ख्या पनि बढ्न थालेको छ।
पुसमा विशेषगरी पशुपति क्षेत्रको सूर्यघाटमा पूजा एवं दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ। हाल सूर्यघाटमा जान सहज बाटो नभएकाले असहज भएको भक्तजनको गुनासो छ। सूर्यघाट जान सहज मार्ग निर्माण गरिनुपर्ने दर्शनार्थी राजकुमार सिग्देलले माग गरे। पुस महिनाको पनि आइतबार सूर्यघाटमा भक्तजनको भीड लाग्छ। रासस











