Kathmandu Press

उपभोक्ता ठगी गर्ने पाँच फर्मविरुद्ध मुद्दा

उपभोक्ता ठगी गर्ने पाँच फर्मविरुद्ध मुद्दा

काठमाडौं, पुस ६ : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ।

नापतौल कार्यालयले चालु आवमा काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो। अदालतमा मुद्दा दायर हुनेमा गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङ रहेका छन्।

मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको पाइएको छ। रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालयका प्रमुख मनिषकुमार दासले बताए। अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरिएको उनले बताए।

मातारानी ट्रेडिङ प्रालिले भारतीय उद्योगमा उत्पादित चामलको बोरामा स्थानीय (लोकल) चामलसमेत हालेर बिक्री वितरण गर्दै आएको नापतौल कार्यालयले जनाएको छ।

यस्तै न्यू टीका डेरी सेन्टरले दूधको पोकामा घटी मात्रामा राखेर बिक्री वितरण गरेको भेटिएको छ। कार्यालयले गरेको अनुगमनका क्रममा एक लिटर दूधको पोकामा ५० मिलिलिटर तथा आधा लिटर दूधको पोकामा ३० मिलिलिटर कमी भेटिएको छ।

गोरखकाली ग्याँस सेन्टर, एम लाल स्टोर्स र गोरखकाली हार्डवेयरले अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेकाले कारबाहीका लागि मुद्दा दायर गरेको हो।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालु आवमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेबापत दुई हजार सत सय आठ व्यवसायीलाई कारबाही गरेको बताए। (रासस)

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्